चेङ्गलपट्टु—साउथ स्टार तथा तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयकी पत्नी संगीता सोर्नालिङ्गमले श्रीमान्विरुद्ध दर्ता गराएको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन्। तमिलनाडुको चेङ्गलपट्टुस्थित पारिवारिक अदालत (फेमिली कोर्ट) ले निवेदन फिर्ता भएसँगै यस मुद्दालाई औपचारिक रूपमा टुङ्ग्याउँदै सुनुवाइ बन्द गरिदिएको छ।
विगत केही महिनादेखि मुख्यमन्त्री विजय र संगीताको वैवाहिक सम्बन्धलाई लिएर चलिरहेका अनेकौँ अड्कलबाजीका बीच यो निर्णय सार्वजनिक भएको हो।
एएनआई (ANI) को रिपोर्टअनुसार, संगीता सोर्नालिङ्गम भिडियो कन्फरेन्सिङमार्फत अदालतमा न्यायाधीश सुजातासामु उपस्थित भएकी थिइन्। अदालतसमक्ष उनले आफू यस सम्बन्धविच्छेदको निवेदनलाई अब अगाडि बढाउन नचाहने कुरा स्पष्ट पारिन्। न्यायाधीश सुजाताले संगीतासँग करिब १५ मिनेट सोधपुछ गरेपछि निवेदन फिर्ता लिन स्वीकृति दिँदै मुद्दा बन्द गरिदिएकी हुन्।
संगीताले यसै वर्षको फेब्रुअरी २०२६ मा 'विशेष विवाह ऐन, १९५४' (Special Marriage Act, 1954) अन्तर्गत सम्बन्धविच्छेदको याचिका दर्ता गराएकी थिइन्। उक्त याचिकामा उनले आफ्ना पति विजयको एक सह-कलाकार (को-स्टार) सँग विवाहेत्तर सम्बन्ध रहेको र उनीहरू भावनात्मक रूपमा पनि अलग भइसकेको आरोप लगाएकी थिइन्। पतिको यस्तो व्यवहारका कारण आफू र आफ्ना दुई सन्तान—छोरा जेसन सञ्जय र छोरी दिव्या साशाले गहिरो मानसिक कष्ट तथा सार्वजनिक रूपमा अपमान बेहोर्नुपरेको कुरा उनले याचिकामा उल्लेख गरेकी थिइन्।
यो निवेदन फिर्ता भएसँगै लामो समयदेखि चलिरहेको वैवाहिक विवादको औपचारिक रूपमा अन्त्य भएको छ।



















