काठमाडौं,१२ असार । विधि विधानको कुरा गरेर नअघाउने, व्यवहारमा भने काइते र किर्ते काम मात्र गर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फेरी अर्को नाटक गर्नुभएको छ ।

उहाँले गठन गरेको पार्टी छाडेर अर्कै पार्टीमा गइसक्नु भएका नेताहरूलाई बर्खास्तको नाटक नेपालले सुनाउनु भएको छ । सो पार्टीको केन्द्रीय कमिटी बैठकबाट निर्वाचनमा अन्तर्घात गरेको भन्दै चार जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको निर्णय नेपालले सुनाउनु भएको छ । जबकि उहाँहरू आफैँ सो पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गरिसक्नु भएको छ ।

निर्वाचनका क्रममा पार्टीलाई अन्तर्घात गरेको भन्दै झापाका लोकबन्धु कन्दङ्वा, दैलेखका तर्कबहादुर शाही, मुगुका राज्यलक्ष्मी बम मल्ला र डोटीका नारद मलासीलाई बर्खास्त गरेको सो पार्टीले जनाएको छ ।

सो पार्टीले रिक्त भएको चार पदमा कपिलदेव पट्टेल, पीताम्बर तिम्सिना, तोलाराज विष्ट र शंकर कुँवरलाई मनोनीत गरेको छ ।

बैठकले पार्टीले सिफारिस गरेका व्यक्तिलाई तत्काल मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः आग्रह गर्ने निर्णय गरेको छ । यदि त्यसो नगरिए अपमान गरेको ठहर गर्ने बैठकले निर्णय गरेको छ ।

यसै बिच आफूहरू मन्त्रीबाट हट्नु परेमा आफूले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाउने पर्ने प्रेम आले लगायतका मन्त्रीहरूको मागलाई बैठकले खारेज गरिदिएको छ । पार्टीले पठाएका नाम बाहेक अन्य कुनै नाम माथि छलफल नहुने पार्टी नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।