मंगलबारे,३२ जेठ । उर्लाबारी नगरपालिकाको नगरसभाको तयारीमा नेकपा (एमाले) विषयगत गृहकार्यसमिती सुक्ष्म ढंगले लागेको छ ।
मंगलबारे स्थित एमाले नगर कमिटीको कार्यालय मदन भवनमा बिहिबार पार्टीसँग जनप्रतिनिधिको अन्तरक्रिर्यात्मक कार्यक्रममार्फत नगरसभाको तयारीमा लागेको हो ।
उर्लाबारी नगरपालिकाले आसन्न असारको दोस्रो हप्तामा आयोजना गरेको तेस्रो नगरसभाको तयारीमा विषयगत गृहकार्यसमित सुक्ष्म ढंगले लागेको एमालेले जनाएको छ । नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत उपलब्ध राजनीतिक दलसम्बद्ध स्थानीय नेतृत्व, जनप्रतिनिधि र सरोकारवालामाझ विषयगत तयारी अवस्थामाथि छलफल भएको कार्यपालिका सदस्य शान्ति गजमेरले बताउनुभयो । यो नगरसभा दोस्रो आर्थिक वर्षआरम्भको तेस्रोसभा हो, उहाँले थप्नुभयो ।
नगरको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो भएको उर्लाबारी नगरमा समाजवादको प्रारम्भिक आधार निर्माण गर्ने अहिलेको नीति–कार्यक्रम र बजेट हुनुपर्नेमा कसैको मत नबाझिएको बरु यससम्बन्धी थप गृहकार्य हुनुपर्नेमा जोड रहेको अध्यक्ष बास्तोलाले बताउनुभयो ।
विगत वर्षयता हुँदै आएका कामका अतिरिक्त शिक्षा र स्वास्थ्यमा आधारभूत रूपमा आममानिसको पहुँच सुनिश्चित गर्ने, सुरक्षाको पूर्ण प्रत्याभूतिका लागि यसलाई साधनस्रोत सबै हिसावले सम्पन्न गर्ने, अधुरा र अपुरा कामको पूर्णतका लागि बजेट विनियोजन गर्ने, स्थानीय उत्पादन वृद्धि र यसको समयानुकूल भण्डारको प्रबन्ध सहित बजार व्यवस्थापन गर्ने, अघि सारेको नगर प्रमुख गंगाप्रसाद खरेलले जनाउनुभयो ।
त्यसैगरी पशुबाली बीमा गर्ने, समाजमा अस्तित्वमा रहेको सबै जातजाती, भाषा, धर्म र सम्प्रदायको संरक्षण र प्रवर्धनका लागि नीति–कार्यक्रमकै तहबाट अग्रसरता लिने, मानव शंसाधन वृद्धिविकासका लागि विषयगत काम गर्ने, मदन भण्डारी अस्पताल एवम् ट्रमा सेण्टरसँग सहकार्य गर्दै ठूला र मुस्किलका रोगको पनि उपचारकेन्द्र उर्लाबारीलाई बनाउने, नगरलाई सुन्दर र हराभरा बनाउँदै आन्तरिक पर्यटन प्रवर्धनको गन्तव्य उर्लाबारीलाई बनाउने जस्ता मसिनामसिना योजनाहरू अघि सारेको नगर प्रमुख खरेलले जनाउनुभयो ।
अदालतको बलमा बनेको गठबन्धन सरकारले विभिन्न शीर्षकअन्तर्गत पठाउनुपर्ने रकम पठाएको छैन । आफूहरू आएदेखि नै माथिल्लो बजेट कटौती भएर आएको छ । डीपीआरसमेत भएका परियोजनाहरू स्थगन भएका छन् । तथापि, भौतिक निर्माण र पूर्वाधार विकासका अलाबा पनि आफ्नो नगरले बस्ती बसाउनेदेखि लिएर जनमनको क्षमता अभिवृद्धिका थुप्रै काम गरेको एमाले जिल्ला नेतृ एवम् नगर उपप्रमुख मीना पौडेलले यसैमा जोड्नुभयो । एमाले केन्द्रीय कमिटी सदस्य एवम् मोरङ संघीय क्षेत्र नं. १ र २ आधारित पालिकाहरूका लागि पार्टी केन्द्रको तर्फबाट खटिनुभएका संघीय क्षेत्र इञ्चार्ज युवराज बास्कोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, कोशी प्रदेश कमिटी सदस्य भूपाल जिमी, मोरङ जिल्ला कमिटी सदस्यहरू क्रमशः पुष्प ढकाल, अग्नीप्रसाद भट्टराई, उमाकान्त गौतम, उर्मिला थापा, खड्ककुमार श्रेष्ठ, कृष्ण बर्देवा र मेघराज श्रीपाली लगायतको उपस्थिति रहेको थियो ।




















