काठमाडौं— विश्व बजारमा खाद्यवस्तुको मूल्य फेरि बढेको छ। आपूर्ति घट्नुका साथै ढुवानी प्रणालीमा अनिश्चितता बढेपछि विश्व बजारमा खाद्यान्नको मूल्य वृद्धि भएको संयुक्त राष्ट्रसङ्घ (यूएन) ले जनाएको छ।

यूएनका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार, संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को खाद्य मूल्य सूचकाङ्क सेप्टेम्बरमा औसत १३६ अङ्क पुगेको छ। यो अगस्टको तुलनामा १.५ प्रतिशत र गत वर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशतले बढी हो।

सेप्टेम्बरमा चिनीको मूल्य सबैभन्दा बढी वृद्धि भएको छ। चिनीको मूल्य ६.१ प्रतिशतले बढेर सन् २०२५ अप्रिलयताकै उच्च विन्दुमा पुगेको दुजारिकले बताएका छन्। विश्व बजारमा चिनीको आपूर्ति सङ्कुचित हुने (घट्ने) अनुमानका कारण मूल्य बढेको हो।

त्यस्तै, अन्न तथा वनस्पति तेलको मूल्यमा पनि वृद्धि भएको छ। अन्नको मूल्य एक महिनामै ५.१ प्रतिशतले बढेको छ। विशेषगरी गहुँको मूल्य सन् २०२३ अगस्टयताकै उच्च स्तरमा पुगेको छ। कालासागर क्षेत्रमा देखिएको ढुवानी तथा व्यवस्थापकीय (लजिस्टिक) अवरोधका कारण गहुँको आपूर्तिमा असर परेको एफएओले जनाएको छ।

मकैको मूल्य पनि तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ। आपूर्ति घट्दै जानुका साथै होर्मुज जलमार्गबाट हुने ढुवानीमा कायम अनिश्चितताले मकैको मूल्य बढाउन थप दबाब दिएको दुजारिकले बताए।

विश्व बजारको आपूर्ति शृङ्खलामा देखिएको अवरोधको प्रत्यक्ष असर व्यवसाय तथा उपभोक्तामा पर्ने देखिएको छ। खाद्यवस्तुको मूल्य बढ्दा घरपरिवारको दैनिक खर्चमा दबाब पर्नुका साथै समग्र महँगी (मुद्रास्फीति) मा समेत थप चाप पर्नेछ। विशेषगरी खाद्यवस्तु आयातमा निर्भर मुलुकमा खाद्य असुरक्षाको जोखिम बढ्न सक्ने यूएनको भनाइ छ।