जोहानेसबर्ग— दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा ५८१ महिलाको हत्या भएको छ। शुक्रबार सार्वजनिक गरिएको पछिल्लो अपराध तथ्याङ्कले महिलामाथि हुने हिंसाको भयावह अवस्था उजागर गरेको छ।

प्रहरीका अनुसार उक्त अवधिमा देशभर ५८१ महिलाको हत्या भएको हो। तीमध्ये जोहानेसबर्गसमेत पर्ने गाउटेङ प्रान्तमा मात्रै १३१ महिला मारिएका छन्।

यस अवधिमा जोहानेसबर्ग र आसपासका सार्वजनिक स्थानमा अर्धनग्न तथा शरीरमा चोटपटक लागेको अवस्थामा १३ महिलाका शव फेला परेका घटनासमेत तथ्याङ्कमा समावेश छन्।

महिलामाथि हुने हिंसा र हत्याको उच्च दरका कारण दक्षिण अफ्रिकामा पछिल्लो घटनाक्रमले देशव्यापी आक्रोश निम्त्याएको छ। हत्यामा संलग्न दोषीको पहिचान गरी कारबाही गर्न प्रहरीमाथि दबाब बढिरहेको छ।

यसै साता फ्रि स्टेट प्रान्तमा पाँच महिला र एक नाबालकको गोली हानी हत्या गरिएको घटना पनि सार्वजनिक भएको थियो।

पछिल्लो तथ्याङ्कअनुसार सोही तीन महिनामा दक्षिण अफ्रिकामा कुल ५ हजार ५९० जनाको हत्या भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०४ ले कम हो। तर पनि देशमा दैनिक औसत करिब ६० जनाको हत्या हुने गरेको देखिन्छ।

महिला हत्याको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको वा घटेको भन्ने स्पष्ट हुन सकेको छैन। तथ्याङ्कमा ‘महत्त्वपूर्ण विसंगति’ रहेको भन्दै प्रहरीले पछिल्लो समय महिला हत्यासम्बन्धी छुट्टै विवरण सार्वजनिक गर्न रोकेको थियो।