काठमाडौं । भारतको मध्य प्रदेशस्थित डिन्डोरी जिल्लामा रसबरी भन्दै साथीले दिएको घरेलु बम चपाउँदा ३५ वर्षीय युवकको मृत्यु भएको छ।

राजेन्द्र बरौतियाले मुखमा राखेर चपाउनेबित्तिकै उक्त वस्तु विस्फोट भएको थियो। गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भयो।

प्रहरीका अनुसार छिमेकी तथा साथी रामभगत सिंहले जंगली सुँगुर मार्न प्रयोग गरिने घरेलु बमलाई रसबरी भन्दै राजेन्द्रलाई दिएका थिए।

घटना नोभेम्बर १० मा डिन्डोरीको पडरिया छाँटा गाउँमा भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामभगतसहित दुई जनालाई पक्राउ गरेको छ।

के भएको थियो घटना?

प्रहरीका अनुसार घटनाको साँझ राजेन्द्र घरको आँगनमा परिवारका सदस्यसँग आगो तापिरहेका थिए। त्यही बेला छिमेकी रामभगत पनि त्यहाँ पुगे। दुवै जना कुराकानी र हाँसोठट्टा गरिरहेका थिए।

सोही क्रममा रामभगतले सानो बलजस्तो देखिने वस्तु निकालेर राजेन्द्रलाई दिए। दीपावलीको प्रसंग निकाल्दै उनले त्यसलाई रसबरी भन्दै चाख्न आग्रह गरे।

राजेन्द्रकी पत्नी सुशीला बाईका अनुसार उनका श्रीमान्ले उक्त वस्तु मुखमा राखेर चपाउनासाथ ठूलो विस्फोट भयो। विस्फोटबाट उनको अनुहार र बंगारामा गम्भीर चोट लागेको थियो।

परिवारका सदस्यले उनलाई अटोरिक्सामार्फत जिल्ला अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भयो। राजेन्द्रका पत्नी र एक बच्चा छन्।

जंगलमा भेटिएको थियो विस्फोटक

प्रहरीका अनुसार पक्राउ परेका अर्का व्यक्तिले जंगलमा उक्त विस्फोटक फेला पारेका थिए। उनले रामभगतलाई दिएपछि रामभगतले राजेन्द्रलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले दुवै आरोपीविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ तथा विस्फोटक पदार्थ ऐनको धारा ३ र ४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रारम्भिक अनुसन्धानमा मृतक र पक्राउ परेका व्यक्तिबीच पुरानो रिसइबी रहेको नदेखिएको प्रहरीले जनाएको छ। विस्फोटकमा प्रयोग भएका पदार्थ पहिचान गर्न प्रहरीले नमुना फरेन्सिक प्रयोगशालामा पठाउने तयारी गरेको छ।

के हो सुँगुर मार्न प्रयोग गरिने बम?

भारतका केही ग्रामीण क्षेत्रमा जंगली सुँगुर मार्न खानेकुराभित्र विस्फोटक लुकाएर राख्ने गरिएको छ। जनावरले त्यसलाई चपाउँदा मुखमै विस्फोट हुने भएकाले यस्ता विस्फोटकलाई ‘पिग बम’ भनिन्छ।

बीबीसी हिन्दीका अनुसार यस्ता विस्फोटकको प्रकृति त्यसमा प्रयोग गरिएका रासायनिक पदार्थमा निर्भर हुन्छ। घटनामा प्रयोग भएको विस्फोटकको वास्तविक प्रकृति भने परीक्षणपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।