- दुर्गाप्रसाद खरेल
मोरङ — मोरङको सुन्दरहरैँचामा स्थानीय उत्पादन, खानाका परिकार, व्यापार, पर्यटन, कला–संस्कृति र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजना तथा सुन्दर होटल पर्यटन व्यवसायी संघको सह–आयोजनामा हुने फेस्टिभल आगामी असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।
फेस्टिभलको तयारी तथा कार्यक्रमबारे उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
आयोजकका अनुसार फेस्टिभलमा दुई लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवमा विभिन्न प्रकृतिका २४ वटा व्यावसायिक स्टल रहनेछन् भने स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि छ वटा निःशुल्क स्टल उपलब्ध गराइनेछ।
महोत्सवमा स्थानीय तथा मौलिक खाद्य परिकार, कृषि तथा घरेलु उत्पादन, हस्तकला र व्यापारिक सामग्रीको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइनेछ। साथै, दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी विशेष कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
फेस्टिभलमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक र सांस्कृतिक प्रस्तुति रहनेछन्। बालबालिका तथा दर्शकलाई लक्षित गरी मनोरञ्जनात्मक कार्यक्रम र खेलकुद गतिविधिसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। स्थानीय भाषा, कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराको संरक्षण तथा प्रचारप्रसारलाई पनि महत्त्व दिइनेछ।
आयोजकले फेस्टिभलबाट टिकट बिक्रीमार्फत ८५ लाख रुपैयाँ, मुख्य तथा सह–प्रायोजकबाट १० लाख रुपैयाँ र मनोरञ्जन तथा खेलकुदबाट सात लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।
त्यस्तै, खर्चतर्फ मैदान व्यवस्थापनमा दुई लाख रुपैयाँ, कलाकार व्यवस्थापनमा ७५ लाख रुपैयाँ, विद्युत्, बत्ती तथा खानेपानीमा एक लाख ५० हजार रुपैयाँ र सरसफाइमा एक लाख रुपैयाँ छुट्याइएको विवरणमा उल्लेख छ।
फेस्टिभलले स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन प्रवर्द्धन र व्यापारिक गतिविधिमा वृद्धि गर्नुका साथै स्थानीय व्यवसायी, कृषक, घरेलु उद्यमी तथा कलाकारलाई आफ्ना उत्पादन र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
फेस्टिभलले बाहिर घुम्न र रमाइलो गर्न चाहनेहरूका लागि मनोरञ्जनको अवसर प्रदान गर्नुका साथै स्थानीय व्यापार, होटल व्यवसाय र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय बजारमा चहलपहल बढाउँदै आम्दानीका अवसर विस्तार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजक संस्था सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए।


