काठमाडौं— नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।

कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्। त्यस्तै, ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए। उनीसहितका नेताहरूको पहलमा आयोजित विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको थियो।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा बहस भएको थियो। त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा सभापतिमा विजयी भएका हुन्।