काठमाडौं—नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन गर्दै असोज १८ मा सभापति गगन थापाले भनेका थिए, ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर उहाँ आउनुभएन।’

थापाले देउवालाई महाधिवेशनमा ल्याउन नेताहरू पटकपटक गए पनि उनी नआएको दाबी गरेका थिए। उनले देउवा समूहका केन्द्रीय सदस्यलाई समायोजन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। थापाले मञ्चबाटै भनेका थिए, ‘तपाईंले गाउँगाउँ गएर भन्दिनुहोला कि शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको थियो, उहाँ आउनुभएन।’

संस्थापन पक्षले विधानअनुसार १५औँ नियमित महाधिवेशन गरिरहँदा देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा छ। यससँगै विगतमा विभाजन र एकताको शृङ्खलाबाट गुज्रिएको कांग्रेस फेरि विभाजनको संघारमा पुगेको छ। पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने कार्यकर्ताको अपेक्षाविपरीत दुवै पक्ष छुट्टाछुट्टै महाधिवेशनमा अघि बढेपछि कांग्रेस एक नरहेको सन्देश गएको छ।

२०५९ असार ४ गते बानेश्वरमा आफूपक्षीय कार्यकर्ताको भेला बोलाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका देउवामाथि दोस्रोपटक पार्टी विभाजन रोक्न नसकेको आरोप लागेको छ। देउवा समूहका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनकै कारण पार्टी विभाजन भएको बताए।

‘हामीले विशेष वैधानिकता नै नभएको विशेष महाधिवेशनलाई स्वीकार गरेका थिएनौँ,’ उनले भने, ‘विशेष महाधिवेशन गरेर गगनजीहरूले पार्टी विभाजनको रेखा कोर्नुभयो। अहिले दुवैतर्फ महाधिवेशन भइरहेको अवस्थामा पार्टी एक हुने अवस्था रहेन।’

संस्थापन पक्षले भने केही नेता मात्र महाधिवेशनमा सहभागी नभएको तर्क गरेको छ। कांग्रेस नेता देवराज चालिसेले आठ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी भएर वडादेखि केन्द्रसम्म महाधिवेशन सम्पन्न भएको दाबी गरे। विशेष महाधिवेशनमा सहभागी नभएका र देउवा समूहमा रहेका ९५ प्रतिशत नेता १५औँ महाधिवेशनमा सहभागी भएकाले कांग्रेस गुटरहित बनेको उनको भनाइ छ। महाधिवेशनमा एक लाखभन्दा बढी ३५ वर्षमुनिका युवा सहभागी भएको र यसले पार्टीमा नयाँ ऊर्जा थपेको चालिसेले बताए।

कांग्रेसले विधानमै ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरे पनि देउवा पक्षका केही पुराना नेताले फरक बाटो रोजेका छन्। नयाँ पार्टी गठनको तयारीमा रहेको समूहका अधिकांश नेता संस्थापन पक्षमा समाहित भएपछि नयाँ दल दर्ताको अन्योलसमेत बढेको छ।

देउवाले २०५९ असारमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरेको पाँच वर्षपछि २०६४ मा पार्टी एकता भएको थियो। २४ वर्षपछि कांग्रेस फेरि विभाजनको बाटोमा पुगेको छ।

२०५९ को विभाजनमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का र एनपी साउदलगायत नेताले देउवालाई साथ दिएका थिए। गोपालमान श्रेष्ठ विशेष महाधिवेशनमा सहभागी भए पनि अन्य नेताहरूले त्यसलाई बहिष्कार गरेका थिए। प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, एनपी साउद र प्रकाशशरण महतलगायत नेता १५औँ महाधिवेशनमा सहभागी नभई समानान्तर अधिवेशनको तयारीमा छन्।

संस्थापनइतर समूहका नेता एनपी साउदले कञ्चनपुरमा क्षेत्रीय अधिवेशन गराउन व्यस्त रहेको बताए। उनले देशभर पाँच हजार वडा अधिवेशन, सयौँ पालिका र क्षेत्रीय अधिवेशन भइरहेको दाबी गरे।

‘अदालतमा रहेको पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म हामीले महाधिवेशन नगरौँ भनेका थियौँ,’ साउदले भने, ‘तर विशेष महाधिवेशन पक्षधर साथीहरूले मान्नुभएन र हामी पनि महाधिवेशनको प्रक्रिया अघि बढाउन बाध्य भयौँ।’

सर्वोच्च अदालतबाट आफ्नो पक्षमा परमादेश आउने विश्वासमा रहेको देउवा समूह प्रतिकूल निर्णयपछि पुनरावलोकनका लागि अदालत पुगेको थियो। पुनरावलोकनको निस्सा पाएपछि मुद्दाको टुंगो नलाग्दासम्म अधिवेशन नगर्ने पक्षमा रहे पनि विशेष महाधिवेशन अघि बढेपछि आफूहरू पनि प्रक्रियामा गएको साउदले बताए।

‘हामीलाई अदालतले आधिकारिकता दियो भने सबैलाई मिलाएर लान्छौँ,’ उनले भने, ‘अर्को पक्षलाई दियो भने कसरी अघि बढ्ने भन्ने त्यसपछि निर्णय लिन्छौँ। दुवैतर्फ महाधिवेशन भइरहेकाले पार्टी एक रहेको भन्न मिल्दैन।’

सुदूरपश्चिमबाहेक अन्य क्षेत्रमा देउवा समूहले पर्याप्त कार्यकर्ता जुटाउन नसकेको नेताहरूले बताएका छन्। अधिकांश क्रियाशील सदस्य संस्थापन पक्षको महाधिवेशनमा सहभागी भइसकेकाले देउवा समूहले तल्लो तहमा नेतृत्व जुटाउनसमेत कठिनाइ भोगिरहेको छ। समानान्तर महाधिवेशन आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले घरमै बोलाएर जिल्ला, क्षेत्र र पालिका संयोजक तोकिरहेको बताइएको छ।

यता, गगन थापाले असोज १८ मा उद्घाटन गरेको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान सकिएको छ भने मतगणना आजदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ।

नयाँ केन्द्रीय कार्यसमिति घोषणा भएपछि समानान्तर महाधिवेशनमा सहभागी नेताहरूलाई कारबाही गर्ने तयारी संस्थापन पक्षले गरेको छ। उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाइने नेताहरूले बताएका छन्। सभापति थापाले महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

‘केही साथीहरू महाधिवेशनबाहिर रहनुभएको छ, उहाँहरूले कांग्रेस छाडेको हो कि होइन? त्यसको स्पष्ट जवाफ दिनुपर्नेछ,’ थापाले भनेका छन्। देउवा समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा समानान्तर १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

पत्रपत्रिकाबाट