मकवानपुर—पालुङ–हेटौँडा सडकखण्ड अवरुद्ध हुँदा १०० भन्दा बढी यात्रुवाहक बसका हजारौँ यात्रु अलपत्र परेका छन्। दसैँलगायतका चाडपर्व मनाउन घर फर्किएका यात्रु शुक्रबार रातिदेखि नै बाटोमै रोकिएका हुन्।

सिन्धुली सडकखण्डमा एलपीजी ग्यास बोकेको बुलेट पल्टिनु र सडक धस्सिनुका कारण यातायात प्रभावित भएको हो। थाहा नगरपालिका–४, सिमभञ्ज्याङदेखि हेटौँडातर्फको जङ्गल क्षेत्रमा यात्रुहरू अलपत्र परेका छन्।

लामो समयदेखि सडकमा रोकिँदा बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धा समस्यामा परेका छन्। खाना र शौचालयको अभावमा यात्रुहरू थप सास्ती भोग्न बाध्य भएका छन्।

यात्रु प्रकाश उप्रेतीले स्थानीय प्रशासन र निकायबीच प्रभावकारी समन्वय नहुँदा यात्रुले दुःख पाएको गुनासो गरेका छन्। साँघुरो र घुमाउरो वैकल्पिक सडकमा यात्रुवाहक तथा मालवाहक सवारीको चाप बढ्दा जाम झन् लम्बिएको छ।

सिमभञ्ज्याङ क्षेत्रमा करिब १२० वटा बस गन्तव्यतर्फ अघि बढ्न पर्खिरहेको जनाइएको छ।