काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका अडियो सामग्री र विभिन्न आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक अडियो सामग्री र उनीमाथि उठेका प्रश्नलाई पार्टीले गम्भीर रूपमा लिएको बताएका छन्।

सञ्चारमाध्यममा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोप सार्वजनिक भएको उल्लेख गर्दै पार्टीले यस विषयलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।

पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको छ। अनुसन्धान प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। साथै, राज्यका सम्बन्धित निकायबाट निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै पार्टीले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ।

रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ। यद्यपि, सुनारमाथि सार्वजनिक भएका आरोप छानबिनबाट पुष्टि हुन बाँकी छन्।