काठमाडौँ—नेपाल आयल निगमले नजिकिँदै गरेका चाडपर्व र हालैको बाढीपहिरोको असरलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य बढेर आए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राखी निगमले नेपालमा खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको हो।
निगमका अनुसार आईओसीबाट २०८३ असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यसूचीमा पेट्रोल प्रतिलिटर रु. २०.४४ र डिजेल रु. २०.२१ ले बढेर आएको छ। त्यसैगरी, मट्टितेलमा रु. १५.९६ र हवाई इन्धनमा रु. १८.६६ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ८१.३२ ले मूल्य वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएर आउँदा पनि नेपालमा बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा (पाक्षिक रूपमा) करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



