धरान—कोशी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगिताको उपाधि झापा जिल्लाले जितेको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको फाइनलमा खोटाङलाई १–० गोल अन्तरले पराजित गर्दै झापा च्याम्पियन बनेको हो ।

झापाको जितमा सौरभ लिम्बूले गरेको गोल निर्णायक बन्यो । उनले खेलको १३औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा झापाले १–० को जितसहित उपाधि उचाल्यो । प्रतियोगितामा खोटाङ उपविजेतामा सीमित बन्यो ।

फाइनल प्रवेशका लागि झापाले संखुवासभालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, खोटाङले धनकुटालाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । 

प्रतियोगितामा झापाका विशाल राई प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले धरान उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर राईको हातबाट नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेता झापा र उपविजेता खोटाङका खेलाडीलाई मेडल तथा ट्रफी प्रदान गरिएको थियो । प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगिताका संयोजक फुर्वा तामाङ, प्राविधिक सहयोगी संस्था कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी सुमन सुवेदी र भोलनाथ सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताबाट कोशी प्रदेश खेलकुद विकास बोर्डले कुल ३० जना खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राख्ने भएको छ । बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार पूर्वफुटबलर तथा अनुभवी प्रशिक्षक सुमन श्रेष्ठले उनीहरूलाई छनोट गर्नेछन् ।

छनोट भएका ३० खेलाडीको बन्द प्रशिक्षण मंगलबार (भोलि) देखि धरानस्थित एन्फा टेक्निकल सेन्टरमै सुरु हुनेछ । बन्द प्रशिक्षणबाट उत्कृष्ट २० खेलाडी छनोट गरी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गराइने घोषले जानकारी दिए ।

कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १६ गते दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हुने भए पनि पुरुष फुटबलका खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । त्यसलाई लक्षित गर्दै कोशी प्रदेशले खेलाडी छनोट र तयारीलाई तीव्रता दिएको छ ।