विराटनगर ।सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङलाई ७ विकेटले हराउँदै सुनसरी अन्तिम दुईमा पुगेको हो ।

विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउण्डमा १२३ रनको लक्ष्य पाएको सुनसरीले १८.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।

सुनसरीलाई जिताउन रितेश रोयले ३६ रन बनाए भने गौरव कटवालले २८ रन बनाए । यस्तै सोनु मण्डलले अविजित २४ रन जोड्दा रोहन साहले अविजित १६ रन जोडे ।

बलिङतर्फ मोरङका प्रेम कामत, श्रवण किस्कु र क्रिश शर्माले एकएक विकेट हात पारे ।

त्यसअघि मोरङले निर्धारित २० ओभर खेल्दा १० विकेटको क्षतिमा १२२ रन बनाएको थियो । मोरङका लागि फिर्दोष अन्सारीले ४४ रन जोड्दा शाकिव हकले २२ रन जोडे । प्रेम कामतले १४ र रुद्रप्रताव साहले ११ रन जोडे ।

बलिङतर्फ शिवन यादव, भुपाल लुइँटेल, प्रकाश कार्की र रविन मण्डलले समान दुई-दुई विकेट लिँदा समीर तिम्सिनाले एक विकेट हात पारे । अब सुनसरीले मंगलबार (भोलि) हुने फाइनल खेलमा झापा र उदयपुरबीचको विजेता टिमसँग खेल्नेछ । झापा र उदयपुरबीचको खेल अहिले जारी छ ।

पहिलोपल्ट नौ जिल्लालाई सहभागी गराएर प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता थालेको थियो ।

छनोट प्रतियोगिताबाट १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूको चयन गर्ने बोर्डको तयारी रहेको छ ।