विराटनगर — नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले कोशी प्रदेशमा नयाँ सरकार निर्माण गर्न पहल शुरु गर्ने निर्णय गरेको छ ।विराटनगरमा मङ्गलबार सम्पन्न बैठकले सरकार परिवर्तनको पहल गर्ने र त्यसका लागि लागि केन्द्रमा लविङ समेत गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशका पदाधिकारीले संसदीय दलका पदाधिकारीसँग ‘सरकार निर्माणको बारेमा छलफल गर्ने र प्रदेश सरकार गठनका लागि केन्द्रमा आवश्यक समन्वय गर्ने निर्णय गरेको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
बैठकले इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनलाई ध्यान दिँदै पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय पनि गरेको छ । इलाम निर्वाचनलाई केन्द्रमा राखेर कार्ययोजना निर्माण गरेको सचिव राजकुमार भण्डारीले जानकारी दिए ।
एमालेको जिल्ला समिति इलामले इलाम–२ को उपनिर्वाचनमा उम्मेद्वार बन्ने ६ जना आकांक्षीको नाम प्रदेशलाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई जस्ताको तस्तै माथि पठाउने निर्णय भएको अध्यक्ष खतिवडाले जानकारी दिए ।




















