काठमाडौं— चर्चित गायिकाद्वय मेलिना राई र जुनु राईलाई पितृशोक परेको छ। उनीहरूका बुवा तथा संगीतकार जिवेश चाम्लिङ राईको बुधबार राति उपचारका क्रममा निधन भएको हो।

संगीतकार बसन्त सापकोटाका अनुसार जिवेशको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी केही समयदेखि अस्वस्थ थिए।

जिवेशको निधनको खबर सार्वजनिक गर्दै संगीतकार सापकोटाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। उनले जिवेशको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मेलिना, जुनुलगायत सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

‘संगीतकार जिवेश चाम्लिङ राईज्यूको गए राति ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचारको क्रममा दुःखद निधन भएको खबरले स्तब्ध छु। बहिनीहरूलगायत सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस्,’ सापकोटाले लेखेका छन्।

आफन्तका अनुसार जिवेश केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत थिए। उनको निधनले परिवारजन, आफन्त तथा नेपाली संगीत क्षेत्रका कलाकारहरूमा शोक छाएको छ।

जिवेशको निधनप्रति संगीत क्षेत्रका विभिन्न व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन्।