विराटनगर ।  उच्च शिक्षा हासिल गर्ने सपना बोकेर चार महिनाअघि मात्रै अस्ट्रेलिया पुगेका सुनसरीको इटहरीका २६ वर्षीय निकेश बजगाईं यतिबेला गम्भीर मिर्गौला रोगसँग लडिरहेका छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी अस्ट्रेलियाको क्याम्पबेलटाउन अस्पतालमा उपचाररत छन् । तर, निरन्तर उपचार, डायलासिस र औषधोपचारको खर्च जुटाउन नसक्दा परिवारले उनको जीवन रक्षाका लागि सहयोगको अपिल गरेको छ ।

निकेशकी दिदी निकिता बजगाईंका अनुसार गत अक्टोबर २९ मा आँखामा संक्रमण भएपछि उनी सामान्य स्वास्थ्य परीक्षणका लागि चिकित्सककहाँ पुगेका थिए । त्यसक्रममा केही महिनादेखि पिसाबमा फिँज आउने गरेको बताएपछि चिकित्सकले रगत परीक्षण गर्न सुझाव दिएका थिए । परीक्षणको नतिजा आएपछि भने चिकित्सकले तत्काल अस्पताल पठाएका थिए ।

निकिताका अनुसार परीक्षणका क्रममा निकेशको मिर्गौलाको कार्यक्षमता जम्मा ६ प्रतिशतमा झरिसकेको पाइएको थियो । उनको रगतमा क्रिएटिनिनको मात्रा ९१८ माइक्रोमोल प्रतिलिटर पुगेको थियो । थप परीक्षण र मिर्गौलाको बायोप्सी गर्दा मिर्गौलामा गम्भीर तथा दीर्घकालीन क्षति पुगेको देखिएको थियो । चिकित्सकले उनलाई मिर्गौलामा असर गर्ने रोगसँग सम्बन्धित समस्या रहेको आशंका गरेका छन् ।

नोभेम्बर २ मा अस्पताल भर्ना भएका निकेशको नोभेम्बर १० देखि डायलासिस सुरु गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनको उपचार रोकिएको छैन । अहिले उनले सातामा तीनपटक अर्थात् मंगलबार, बिहीबार र शनिबार डायलासिस गराउनुपर्ने अवस्था छ । साथै, रगतमा हेमोग्लोबिन तथा रातो रक्तकोषको कमी (एनिमिया) समेत देखिएकाले थप औषधोपचार र नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको निकिताले बताएकी छन् ।

सन् २००० जुलाई ४ मा जन्मिएका निकेश गत नोभेम्बर ९, २०२५ मा अस्ट्रेलिया पुगेका थिए । मास्टर अफ बिजनेस एनालिटिक्स अध्ययन गर्न अस्ट्रेलिया पुगेका उनी पढाइसँगै काम गरेर आफ्नो खर्च आफैँ व्यवस्थापन गर्दै आएका थिए । तर, अचानक देखिएको गम्भीर स्वास्थ्य समस्याले उनको अध्ययन, काम र भविष्यका योजनामा पूर्णविराम लगाउने अवस्था सिर्जना गरेको छ ।

चिकित्सकले दीर्घकालीन उपचारका रूपमा मिर्गौला प्रत्यारोपणको सम्भावना पनि औँल्याएका छन् । त्यसका लागि आवश्यक परीक्षण, डायलासिस, औषधि, अस्पताल उपचार तथा सम्भावित प्रत्यारोपणको खर्च परिवारका लागि ठूलो आर्थिक चुनौती बनेको छ ।

दिदी निकिताले गोफन्डमीमार्फत सहयोगको अपिल गर्दै भाइलाई जीवनको अर्को अवसर दिन सबैसँग आग्रह गरेकी छन् । उनले लेखेकी छन्, 'केही साताअघिसम्म आफ्नो भविष्य निर्माणमा जुटिरहेको मेरो भाइ आज जीवन बचाउन नियमित डायलासिसमा निर्भर छ । उसले आफ्नो पढाइ पूरा गर्ने, सपना पूरा गर्ने र स्वस्थ जीवन बाँच्ने अवसर पाउनुपर्छ ।'

छोराको उपचारका लागि आमा पवित्रा बजगाईंले पनि आर्थिक सहयोग जुटाइरहेकी छन् । परिवारले स्वदेश तथा विदेशमा रहेका नेपाली र सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ । निकेशको उपचारका लागि पवित्रा बजगाईंको बैंक खातामा रकम जम्मा गर्न सकिनेछ भने गोफन्डमार्फत पनि सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

परिवारका अनुसार सानो–ठूलो जुनसुकै सहयोगले पनि निकेशको उपचारमा राहत पुग्नेछ । सहयोग गर्न नसक्नेहरूले पनि उनको उपचारका लागि गरिएको अपिल र सहयोग अभियान अरूसम्म पुर्‍याइदिन परिवारले आग्रह गरेको छ ।