विराटनगर । समयमा काम नसकिने, ढिलासुस्ती हुने र निर्माण व्यवसायीले योजना अलपत्र पार्ने प्रवृत्ति देशभर मौलाइरहेका बेला मोरङको रतुवामाई नगरपालिकामा भने एउटा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएर उदाहरणीय बनेको छ।
रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’ अन्तर्गत कटनुखोला पुल निर्माणको काम सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो। नवनिर्मित २५ मिटर लामो आरसीसी टी–गर्डर पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले उद्घाटन गरे ।
पूर्वाधार विकास कार्यालय मोरङमार्फत कुल ६ करोड ५३ लाख १७ हजार ६२६ रुपैयाँको लागतमा थानी–लेखराज–बुढाथोकी जेभीले यो पुल निर्माण गरेको हो। १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित ६ मिटर क्यारिजवे र दुवैतर्फ १.२ मिटरको फुटपाथसहितको पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन्।
यहाँका स्थानीयवासीले वर्षायाममा कटनुखोलामा आउने बाढीका कारण वर्षौंदेखि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। तर पुल बनेसँगै कृषि उपज ढुवानी, बजार पहुँच र बालबालिकालाई विद्यालय आउजाउ गर्न सहज भएको छ।
पुल निर्माणका लागि निःशुल्क जग्गा दान गर्नुभएका स्थानीय ज्येष्ठ नागरिक प्रेमबहादुर अधिकारीले आफ्नो चार दशक लामो सपना पूरा भएको बताए।
भावुक हुँदै उनले भने, “२०४० सालदेखि नै हामीले यहाँ पुल बनाउन माग गर्दै आएका थियौँ। काठ र बाँसको पुल बाढीले बगाएर कयौँ पटक जोखिम भोगियो। आज आफ्नै आँखाअगाडि यति छिटो पक्की पुल बनेको देख्दा छाती गर्वले फुलेको छ, म अत्यन्तै खुसी छु।”
कार्यक्रममा जग्गादाता अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीको परिवारलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
पुलको उद्घाटन गर्दै मन्त्री जीवन आचार्यले तोकिएको समयभन्दा अगावै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयको सहकार्यको प्रशंसा गरे।
उनले भने, “प्रदेशमा वर्षौँदेखि अधुरा रहेका योजनाहरूलाई गति दिन सरकार अहोरात्र खटिरहेको छ। काम नगर्नेको ठेक्का तोड्नेसम्मको निर्देशन भइसकेको अवस्थामा समयअगावै पुल बनाएर निर्माण व्यवसायीले सकारात्मक सन्देश दिएका छन्। यो पुलले स्थानीयको आवागमन र आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउनेछ।”
योजनालाई प्राथमिकतामा पारेर बजेट सुनिश्चित गराउन पहल गर्नुभएका त्यस क्षेत्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेती ‘सुशील’ले विकास निर्माणमा स्थानीय र जनप्रतिनिधिको समन्वयको नतिजा देखिएको बताए।
उनले भने, “पहिले दुई–तीन पटकसम्म बजेट परेर पनि फ्रिज भएको तीतो इतिहास थियो। हामीले निरन्तर पहल गरेर बजेट सुनिश्चित ग¥यौँ। निर्माण व्यवसायी साथीहरूले जिम्मेवारीपूर्वक समयअगावै काम सम्पन्न गरिदिनुभयो, यसले समग्र रतुवामाईको विकासमा नयाँ आशा जगाएको छ।”
उनले सोही ठाउँमा सिंचाइ सुविका विस्तार गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भएको र उक्त योजनालाई बहुवर्षीय योजनामा रुपान्तरण गर्न आफूले प्रयत्न गरिरहेको जानकारी दिए।
उनले रतुवामाई नगरपालिका क्षेत्रभित्र प्रदेश सरकारबाट थुप्रै विकास योजनाहरु सञ्चालन भइरहेको भन्दै थप योजनाका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले अन्य निर्माण व्यवसायीका लागि पनि यो काम पाठ हुनुपर्ने उल्लेख गरे।
रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले जोखिमपूर्ण बाँसको पुलबाट यात्रा गर्नुपर्ने वडावासीको बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गर्दै योजना सफल पार्न खट्ने प्राविधिक तथा निर्माण कम्पनीलाई धन्यवाद दिए।


