काठमाडौं—आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालत पुगेका निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिट निवेदन दर्ता हुने वा नहुने विषयमा आज छलफल हुने भएको छ।

कार्कीले सरकारको निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। तर, सर्वोच्च अदालत प्रशासनले निवेदन अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेपछि त्यसको कानुनी अवस्था र दर्ता प्रक्रियाबारे शुक्रबार छलफल हुन लागेको हो।

सर्वोच्च अदालत प्रशासनले निवेदन अध्ययनकै क्रममा रहेकाले कानुनी अवस्था हेरेर दर्ता गर्ने वा नगर्ने निर्णय लिइने जनाएको छ।

सरकारले बुधबार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। त्यसपछि डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो। केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन्।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की कानुनी उपचारको खोजीमा सर्वोच्च पुगेका हुन्।

यद्यपि, रिट दर्ता भए पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइका लागि अदालत खुलेपछि मात्रै प्रक्रिया अघि बढ्ने सम्भावना छ। अब सर्वोच्च प्रशासनले रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णयलाई चासोका साथ हेरिएको छ।