काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले आफ्नै पार्टी नेतृत्वको सरकारलाई विगतमा डा. गोविन्द केसीको समर्थनमा उठाइएका नाराहरू स्मरण गराएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत डा. केसीको जीवन रक्षाका लागि अपिल गर्दै सरकारमा सहभागी तीन मन्त्रीलाई विगतका प्रतिबद्धता सम्झाएकी हुन्।
कार्कीले मन्त्रीहरू सस्मित पोखरेल, विराजभक्त श्रेष्ठ र शिशिर खनाललाई आफ्नो पोस्टमा ट्याग गर्दै माइतीघरदेखि बानेश्वरसम्म डा. केसीको समर्थनमा घन्किएका नाराहरू स्मरण गराएकी छन्।
उनले ‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न’, ‘एक–दुई–तीन–चारः बन्द गर भ्रष्टाचार’ र ‘वी आर विथ डा. गोविन्द केसी’ जस्ता नाराहरू सम्झाउँदै विगतमा केसीको समर्थनमा निधारमा फेटा बाँधेर आन्दोलनमा सहभागी भएको प्रसंगसमेत उठाएकी छन्।
कार्कीले विगतका सरकारले डा. केसीसँग गरेका सम्झौता र वर्तमान सरकारले गरेका प्रतिबद्धतासमेत कार्यान्वयन गर्नुपर्ने माग गरेकी छन्।
‘डा. केसी एक्लै लडेका होइनन्, तपाईं हामी सँगै लडेका थियौँ। अब ती मुद्दाहरूलाई मुकाममा पुर्याउने दायित्व बहन गरौँ,’ उनले लेखेकी छन्।
उनले डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै वार्ता गरेर तत्काल माग सम्बोधन गर्न र उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेकी छन्।


