भारत — भारतको बिहार राज्यस्थित औरंगाबाद जिल्लामा भएको एक चोरीको घटनाले अनौठो मोड लिएको छ। घरबाट चोरी भएका करिब २० लाख भारतीय रुपैयाँ मूल्यका सुन–चाँदीका गरगहना चोरहरूले दुई दिनमै घरको ढोकामै फिर्ता राखेर फरार भएका छन्।

ओबरा थाना क्षेत्रको देवी नगरमा तीज पर्वको तयारी भइरहेका बेला सेप्टेम्बर १६ मा सुरभि सिन्हाको घरबाट गरगहनाले भरिएको झोला चोरी भएको थियो। घटनापछि उनले प्रहरीमा उजुरी दिँदै सामाजिक सञ्जालमा रुँदै भिडियो सार्वजनिक गरिन्। भिडियोमा उनले आफूले दुःख गरेर जम्मा गरेका गरगहना फिर्ता गरिदिन भावुक अपिल गरेकी थिइन्।

सुरभिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा पायो। त्यससँगै प्रहरीले पनि चोरीमा संलग्न व्यक्तिको खोजी तीव्र पार्दै विभिन्न स्थानमा लगातार छापा मार्न थालेको थियो।

प्रहरीको अनुसन्धान जारी रहेका बेला चोरी भएको ४८ घण्टाभित्रै गरगहनाले भरिएको झोला सुरभिको घरको चौखटमा चुपचाप राखिएको अवस्थामा फेला परेको हो। गहना राखेर चोरहरू फरार भएका थिए।

ओबरा थानाध्यक्ष नितीश कुमारका अनुसार प्रहरीको निरन्तर दबाब र पक्राउ पर्ने डरका कारण चोरीमा संलग्न व्यक्तिले गहना फिर्ता गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनास्थल र आसपासका सीसीटीभी फुटेजको अध्ययन गर्दै चोरीमा संलग्न व्यक्तिको खोजी जारी राखेको जनाएको छ।

घटनाले सामाजिक सञ्जालमा पनि निकै चर्चा पाएको छ। भावुक अपिल र प्रहरीको सक्रिय अनुसन्धानपछि चोरीका गहना फिर्ता आएको भए पनि चोरी कसले गर्‍यो र किन गहना घरमै ल्याएर छाडियो भन्ने प्रश्नको उत्तर भने अझै खुलेको छैन।