विराटनगर । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले खाता खोलेको छ । कोशी प्रदेशका विकास कुमालले पौडीको मेन्स ५० मिटर ब्रेस्ट स्ट्रोक विधामा स्वर्ण पदक जितेका छन् ।
नेपालगञ्जस्थित पौडी पोखरीमा मंगलबार भएको स्पर्धामा विकास नेपाल आर्मी क्लबका जडेन श्रेष्ठ र नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठलाई हराउँदै प्रथम भएको कोशीका पौडी प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार विकासले ३०.८४ सेकेण्डमा पूरा गर्दा आर्मीका जडेनले ३१.१३ र पुलिसका इर्भिनले ३१.६० सेकेण्डमा पूरा गरेका हुन् ।
यससँगै कोशी गोल्ड मेडलका साथ १०औं राष्ट्रिय खेलकुदमा खाता खोल्न सफल भएको छ ।
ब्रेस्टस्ट्रोक विधामा विकासले यसअघि पनि राष्ट्रिय कीर्तिमान बनाएका थिए । विकासले ११औँ एनएसए कप पौडी प्रतियोगितामा ५०, सय र दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
त्यसबाहेक २५औँ खुला राष्ट्रिय पौडी प्रतियोगितामा ५० मिटर ब्रेस्ट स्ट्रोकमा कीर्तिमान बनाएका उनले नवौँ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण र एक रजत जितेका थिए ।
संखुवासभाको तुम्लिङटार निवासी कुमाल हाल अमेरिकाको केन्टकीस्थित क्याम्पबेल्सभिल युनिभर्सिटीबाट पौडीको ट्रेनिङ लिइरहेका छन् ।
कोशीको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुदमा सहभागी भएका उनले स्वर्ण जितेर प्रदेशको गौरवलाई थप उँचो बनाएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको भनाइ छ ।


