काठमाडौं,२३ असोज । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले परित्याग गरेका छन्। केपी ओलीको नेतृत्वमा पार्टी नसुध्रिने निश्कर्षसहित भुसालले एमाले परित्याग गरेका हुन्।

एमाले छाडेका भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी अगाडि बढाएका छन्। नेकपा एमाले केपी ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको निश्कर्ष छ।

भुसालले भनेका छन्, ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।’

एमालेलाई सुधार गर्न सकिन्छ भन्ने आफ्नो प्रयास खेर गएको निश्कर्षसहित भुसाल भन्छन्, ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

त्यस्तै, बिहीबार (२० असोज) देखि नै एमालेका दुई नेता लगातार सञ्चारमाध्यमहरुमा छाइरहेका छन्। दुई दिनदेखि मिडियाको ध्यान लगातार तानिरहेका गरिरहेका ती दुई नेता हुन्– भीम रावल र घनश्याम भुसाल।

आफ्नो कठोर आलोचना गर्दै आएका दुई चर्चित नेतालाई आगामी निर्वाचनमा टिकट नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि फेरि रावल र भुसालको चर्चा चुलिएको हो।

२०७४ को निर्वाचनमा आफूले विजय हासिल गरेको रुपन्देही–३ मा एमालेले उपाध्यक्ष दीपक बोहोरालाई सघाउने भएपछि एमाले स्थायी समिति सदस्य समेत रहेका भुसालले केही घण्टाअघि मात्रै एमाले परित्याग घोषणा गरिसकेका छन्।

एमालेभित्र भुसाल भन्दा पनि रावल अध्यक्ष ओलीको जब्बर आलोचक मानिन्थे। चितवनमा गत मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा रावलले अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी नै दिएका थिए।

ओलीले टिकट नदिने पक्का भएपछि बरु भुसाल मौन थिए । मौन बसिरहेका भुसालको एमाले परित्यागको घोषणा आकस्मिक र आश्चर्यजनक थियो।

रावलले भने ओलीको निर्णयको आधिकारिकता पर्खिरहेको जवाफ सञ्चारमाध्यमलाई दिएका थिए। ‘भुसालको एमाले परित्यागको घोषणापछि रावल के गर्लान्? भुसाललको निर्णयलाई उनले कसरी लिएका छन्?’ यसबारे एमाले र एमाले इतर दुवैतर्फ सर्वत्र चासो छ।

‘घनश्यामजीजस्तै म पनि पार्टीबाट उम्मेदवार बन्न बञ्चित भएको व्यक्ति हुँ’, भुसालको एमालेबाट राजीनामालगत्तै आफ्नो योजनाबारे रावलले भने, ‘के गर्ने भन्ने कुरा अध्ययन गर्दैछु।’

‘घनश्याम भुसालको राजीनामाबारे तपाईं के भन्नु हुन्छ?’ प्रश्नमा एमालेका पूर्व उपाध्यक्ष रावलले ‘गलत निर्णय’ भन्न चाहेनन्। उनले यत्तिमात्रै भने, ‘यो उहाँको निर्णय हो, यसबारे मेरो नो कमेन्ट।’