काठमाडौं — तत्कालीन प्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपाल आफूसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकै दिन दक्षिण कोरिया प्रस्थान गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि नेपालले पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेका थिए।
नेकपाकी नेतृ उमा भुजेललाई पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सहभागी भएका नेपाल कार्यक्रम सकेर दक्षिण कोरिया उडेका हुन्।
अख्तियारले मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी निजी प्रयोजनमा लगाएको आरोपमा नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया गएको नेकपाले जनाएको छ। नोभेम्बर ४ देखि ७ सम्म राजधानी सोलमा महासभा आयोजना हुँदैछ।
महासभामा ३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुनेछन्। नेकपा एमालेका तर्फबाट सचिव शेरधन राई नेतृत्वको टोली पनि सोल पुगिसकेको छ। टोलीमा एमालेका डा. गोपाल खनालसमेत सहभागी छन्।
आईक्याप एसियाली देशका राजनीतिक दलबीच आपसी समझदारी, सहकार्य र लोकतन्त्रको सुदृढीकरणका विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय मञ्च हो। यसको स्थापना सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको थियो।


