विराटनगर । विराटनगरमा दुई युवा बाख्रा चोरीको आरोपमा पक्राउ परेका छन् । बाख्रा चोरी गरी आफ्नै घरमा लुकाएर राखेको आरोपमा विराटनगर महानगरपालिका–३ का ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशी पक्राउ परेका हुन् । 

कात्तिक ११ गते राति विराटनगर महानगरपालिका–४ स्थित एक घरबाट एउटा खशी र एउटा बाख्रा चोरी गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

त्यसैगरी, कात्तिक १४ गते राति विराटनगर–३ स्थित अर्को घरबाट एउटा खशी र एउटा बाख्राको पाठा चोरी गरेको जानकारी मिश्रले दिए ।

चोरी गरिएका चारवटै बाख्रा आफ्नै घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले कात्तिक १४ गते बिहान उनीहरूको घरमा खानतलासी गरेको थियो ।

सो क्रममा दुईवटा खशी, एउटा माउ बाख्रा र एउटा पाठासहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।