विराटनगर । शुक्रबार दिउँसोतिर । सादा पोशाकमा खटिएका नेपाल प्रहरीको जत्थाले काठमाडौंका मिडिया हाउस प्रवेश गरेर पत्रकारहरूलाई नियन्त्रणमा लिन्छ । नेपाल प्रेस, नयाँ पत्रिका, डीएनए खबर र मोटिभेट न्युजको कार्यालयबाट पत्रकारलाई उठाउँछ । 

कतिपय मिडियामा धम्की दिन्छ । त्यसपछि सरकार र प्रहरीको चौतर्फी आलोचना सुरु हुन्छ । सञ्चारमाध्यम, पत्रकार, विपक्षी दलका नेता । इभन सत्तारूढ दल रास्वपाकै सांसदहरू सोसल मिडिया थ्रु विरोधमा उत्रिन्छन् । अनिमात्र प्रधानमन्त्री सचिवालय बोल्छ, पत्रकार पक्राउ गरिएको विषय हामीलाई थाहा छैन ।

त्यसरी नै, जतिबेला स्कुल ड्रेसमै आन्दोलनका लागि आएका कलिला विद्यार्थीमाथि तत्कालीन सरकारले गोली चलाएको थियो । अनि सरकार प्रमुखका रूपमा केपी ओलीले भनेका थिए, मलाई थाहै थिएन । 

त्यसो भए केपी ओली र बालेन साहमा फरक के रह्यो त ? ओलीलाई पाका नेता भनेर सत्ताबाट हटाइयो अनि त्यसमाथि पनि जनमतद्वारा फ्याँकियो । अनि बालेन नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै सत्तामा पुगे । बालेनलाई ठूलो भरोसा गरेर प्रधानमन्त्री बनाइयो । तर सत्तामा पुगेपछि उनी पनि ओलीजस्तै अञ्जान बन्न थाले । ओलीलाई जेनजी विद्रोह, विध्वंशमा परिणत हुँदासम्म थाहा भएन । बालेनलाई अहिले सिनारियो । 

अब त्यसो भए देश कसले हाँक्दै छ त ? प्रहरीले त पक्कै होइन होला ! सरकारको निर्देशनबिना पत्रकारलाई च्याप्प समात्ने आँट प्रहरीमा कहाँबाट आओस् ? प्रहरीले सरकारर्फ औंला सोझ्याउने अनि, सरकार थाहा छैन भनेर गमक्क बस्ने ! सेतो पावरवाला चस्मा फेरिएर कालो त भयो । तर सरकार प्रमुख बनेपछि रबैयाचाहिँ उस्तै रह्यो । अब पुरानै गल्ती दोहोर्‍याइरहँदा जनताको भरोसामाथि प्रश्न उठ्नु पनि स्वाभाविक होइन र ?