काठमाडौं— हुण्डी कारोबारको अनुसन्धानसँग जोडिएका इनम सापकोटाको मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट बाहिरिएपछि नेपाल प्रहरीभित्र तरङ्ग उत्पन्न भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अनुसन्धानको गोप्य विवरण कसरी बाहिरियो भन्दै जवाफ खोजेका छन्।
प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा अनुसन्धानको सूचना चुहावट, प्रहरी संगठनमाथि भइरहेको आलोचना र जिम्मेवार अधिकारीहरूको भूमिकाबारे छलफल भएको बैठकमा सहभागी अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
अभद्र व्यवहार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटा हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। उनको कल डिटेल, सन्देश र मोबाइलको डिजिटल फरेन्सिक परीक्षणबाट प्राप्त विवरण सार्वजनिक भएपछि प्रहरीले सूचना चुहावटको स्रोतबारे चासो देखाएको हो।
बैठकमा सम्बन्धित प्रहरी अधिकारीहरूले आफूहरूको तर्फबाट सूचना चुहावट नभएको स्पष्टीकरण दिएको जनाइएको छ। डिजिटल फरेन्सिक ल्याबबाट परीक्षणका क्रममा प्राप्त विवरण सिलबन्दी गरी गोप्य राखिएकाले त्यहाँबाट सूचना बाहिरिएको सम्भावना नरहेको दाबी पनि बैठकमा प्रस्तुत भएको थियो।
अनुसन्धानका विवरण प्रहरी वा अदालतमा मिसिल पेस गर्ने क्रममा बाहिरिएको हुन सक्ने सम्भावनाबारे समेत छलफल भएको थियो। तर, सूचना कहाँबाट चुहिएको हो भन्ने विषयमा निष्कर्ष निस्किएको छैन।
बैठकले अनुसन्धानको गोप्य सूचना प्रहरीबाटै चुहिएको पुष्टि भए सम्बन्धित अधिकारीमाथि विभागीय कारबाही गर्ने निर्णय गरेको जनाइएको छ।
आईजीपी कार्कीले प्रहरी संगठनलाई कमजोर बनाएर निहित स्वार्थ पूरा गर्न खोज्ने तत्वप्रति सचेत रहन र उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका थिए।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि प्रहरीलाई कमजोर बनाएर आफ्ना स्वार्थ पूरा गर्न खोज्ने गतिविधिबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याइने उल्लेख गरेको छ।


