पोखरा — जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका बलात्कार मुद्दाका दोषी नारायण घिमिरे १४ महिनापछि पक्राउ परेका छन्। प्रहरीले उनलाई उपल्लो मुस्ताङको चैलेस्थित एक होटलबाट पक्राउ गरी पुनः कारागार चलान गरेको छ।
४८ वर्षीय घिमिरे लमजुङमा नाबालिकामाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन्। लमजुङ जिल्ला अदालतले २०८० असार ४ गते उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो।
२०८२ साउनमा अविरल वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई अन्य कैदीबन्दीसँगै पोखरा स्थानान्तरण गरिएको थियो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनी कास्की कारागारबाट फरार भएका थिए।
भारतदेखि उपल्लो मुस्ताङसम्म लुकिछिपी बसाइ
कारागारबाट भागेपछि घिमिरे पोखराको लेकसाइडस्थित एउटा होटलमा लुकेर बसेका थिए। भोलिपल्ट बिहान पोखराबाट स्याङ्जाको वालिङ हुँदै रूपन्देही पुगेका उनी बेलहिया नाका प्रयोग गरी भारत छिरेका थिए।
भारतको मुम्बईस्थित ग्रिन चिली रेस्टुरेन्टमा पुरानो साहुलाई भेटेर उनले २७ दिन काम गरे। त्यसपछि सोमनाथ मन्दिरको दर्शन गर्न पुगेका उनी दिल्ली गएर येलो बल रेस्टुरेन्टमा परिचय लुकाउँदै काम गर्न थाले।
दिल्लीमा भेटिएका एक नेपालीको सम्पर्कबाट मुस्ताङमा काम गर्ने अवसरबारे जानकारी पाएपछि उनले नेपाल फर्किएर त्यतै जाने योजना बनाएका थिए।
२०८२ पुसतिर नेपाल–भारत मैत्री बस चढेर बुटवल आएका उनी स्याङ्जाको बाटो हुँदै पोखरा पुगे। त्यसपछि अर्को गाडी चढेर मुस्ताङ पुगेका थिए।
होटलमा पहिचान लुकाएर काम
प्रहरीका अनुसार घिमिरेले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, चैलेस्थित प्रमिसा होटलमा पहिचान लुकाएर करिब नौ महिना काम गरेका थिए। २०८३ असोज १९ गते होटल परिवर्तन गरी उनी सोही स्थानको लिवन रेस्टुरेन्टमा काम गर्न थालेका थिए।
भारतका विभिन्न सहरदेखि मुस्ताङको विकट बस्तीसम्म पुगेर लुकिरहेका घिमिरेलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा पछ्याइरहेको थियो।
अन्ततः प्रहरीले उनलाई चैलेबाट पक्राउ गर्न सफल भयो। पक्राउ परेका घिमिरेलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कास्की कारागारमा बुझाइएको नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र बाल सुधारगृहबाट कैदीबन्दी फरार भएका थिए। तीमध्ये कास्की कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ११० जना अझै पक्राउ पर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ।


