विराटनगर— मोरङको रतुवामाईमा लागुऔषध कारोबारको निगरानीमा खटिएको प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।
रतुवामाई नगरपालिका–६, शनिश्चरेमा बिहीबार राति करिब ९ः३० बजे प्रहरीले गोली चलाएको हो। पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
मिश्रका अनुसार लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोली र विराटनगरस्थित ब्युरोको टोलीले संयुक्त रूपमा निगरानी तथा जाँच गरिरहेको थियो।
त्यही क्रममा भारतीय नम्बर प्लेटसहित दुईवटा मोटरसाइकलमा आएका तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो। प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरूले प्रहरीमाथि नै गोली प्रहारको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको डीएसपी मिश्रले बताए।
उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएको थियो।
गोली लागेर भारतको अररिया जिल्लास्थित कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई झुर्कियास्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ।
घटनामा रतुवामाई नगरपालिका–१, चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरू सवार दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ। प्रहरीले बरामद लागुऔषधको स्रोत, बिक्री हुने स्थान र कारोबारमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ।
घटनाको अनुसन्धान इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गरिरहेको प्रहरीले जनाएको छ।


