धनकुटा — धनकुटाको पाख्रीबास बजारबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४१ हजार ५२७ रुपैयाँ नगद र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार साँझ पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी निरीक्षक रामप्रसाद खनालको नेतृत्वमा गएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–२ का टेकनाथ अधिकारी, नवराज मगर, डिपिन गौतम, ललित राना, चन्द्रबहादुर राना, निरज श्रेष्ठ, दीपक अधिकारी, धनबहादुर मगर र तोर्ण मगर रहेका छन्।

त्यस्तै, पाख्रीबास नगरपालिका–४ का भीम बस्नेत र चितवनको भरतपुर महानगरपालिका–७ का अर्जुन सुयाल पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका ११ जनालाई बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जुवा खेल्ने तथा सट्टेबाजी गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।