काठमाडौं— काठमाडौंका प्रहरी बिटहरू जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर ध्वस्त भएपछि ‘आमा, म त खरानीबाट उठेर आएँ’ बोलको गीत लेखेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई अहिले पदबाट हटाउन खोजिएको चर्चाले नयाँ बहस सिर्जना गरेको छ।

पत्रकार तथा राजनीतिक विश्लेषक दिल निशानी मगरले सामाजिक सञ्जालमा गरेको टिप्पणीले यस विषयलाई थप चर्चामा ल्याएको छ। मगरले कार्कीले प्रहरी बिटहरू ध्वस्त भएको पीडा समेटेर गीत सार्वजनिक गरेपछि विभिन्न समूहबाट असन्तुष्टि र दबाब आएको दाबी गरेका छन्।

मगरका अनुसार उक्त गीत सार्वजनिक नगर्न टीओबी समूहबाट धम्कीसमेत आएको थियो। तर, कार्कीले दबाबको बेवास्ता गर्दै गीत सार्वजनिक गरेको उनको दाबी छ। यद्यपि, धम्की आएको र त्यसकै कारण अहिले कार्कीलाई हटाउन खोजिएको भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यसैबीच, आईजीपी कार्कीलाई राजीनामा दिन दबाब परेको र सरकारले उनलाई पदबाट हटाउन सक्ने भन्ने समाचार सार्वजनिक भएका छन्। यही विषयमा नेपाल प्रहरीको नेतृत्वले बिहीबार प्रहरीका उच्च अधिकारीहरूसँग लामो बैठकसमेत गरेको थियो।

तर, नेपाल प्रहरीले आईजीपीलाई राजीनामा दिन दबाब परेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै त्यस्ता विवरण भ्रामक रहेको जनाएको छ। बैठकमा कार्कीले पनि आफूलाई कसैले राजीनामा दिन नभनेको बताएका थिए।

कार्कीलाई हटाउने चर्चाका बीच उनको गीत, जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि परेको क्षति र त्यसपछिका घटनाक्रमलाई जोडेर विभिन्न टिप्पणी भइरहेका छन्। तर, गीत लेखेकै कारण उनलाई पदबाट हटाउन खोजिएको हो भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण सार्वजनिक भएका छैनन्।

गीतले निम्त्याएको असन्तुष्टि हो वा प्रहरी नेतृत्वसँग जोडिएका अन्य विवाद? आईजीपी कार्कीलाई हटाउने चर्चा चर्किरहेका बेला यसको वास्तविक कारणबारे स्पष्टता आउन बाँकी छ।