काठमाडौं—नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। दुवै नेताले नेतृत्वको विषयमा विवाद गर्नुभन्दा आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने संकेत गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार राष्ट्रिय भेलाको तयारीका लागि बसेको बैठकमा दुवै नेताले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने धारणा राखेका थिए।
बैठकमा उपाध्यक्ष पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयलाई क्षणिक र अस्थायी धक्काका रूपमा लिनुपर्ने बताए। उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने गरी तयारी गर्नुपर्नेमा जोड दिए।
यद्यपि, बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाउँदै पौडेलले सडक आन्दोलन र निर्वाचन दुवैका लागि तयार रहनुपर्ने बताए।
‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले बैठकमा भने।
निर्वाचनमा पराजय भोगेपछि एमालेभित्र अध्यक्ष ओलीको कार्यशैली, संगठनको अवस्था र भावी नेतृत्वबारे बहस हुँदै आएको छ। यही पृष्ठभूमिमा पौडेलले पार्टीको आन्तरिक एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।
आगामी मंसिरमा हुने राष्ट्रिय भेलामा पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा छलफल हुनुपर्ने उनले बताए।
‘पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य हुनुपर्छ,’ पौडेलले भने।
उनले केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै ती निर्णयका आधारमा नेता–कार्यकर्तालाई उत्साहित बनाएर स्थानीय निर्वाचनको तयारीमा जुटाउनुपर्ने बताए।
यस्तै, महासचिव पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्ता परिचालित हुनुपर्ने बताए। उनले पार्टी एकताबद्ध भएको सन्देश जनस्तरसम्म पुर्याउन पनि आग्रह गरे।
बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराएका थिए। उनका अनुसार मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा ३ हजार १६४ जना सहभागी हुनेछन्।
भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्।
त्यस्तै, जिल्ला तहबाट ४४० जना, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट १ हजार ५०६ जना, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना र प्रदेशसभा सदस्यबाट १५५ जनाको सहभागिता रहनेछ।
यसैगरी, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ।
एमालेले राष्ट्रिय भेलामार्फत पार्टीभित्र एकताको सन्देश प्रवाह गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाउने लक्ष्य लिएको छ।


