इटहरी । आसन्न १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेश खेलकुद विकास बोर्ड, कोशीले आयोजना गरेको दुई दिने प्रशिक्षक रिफ्रेसर कोर्स-२०८० शुक्रबार समापन भएको छ ।
बोर्डले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र खेलाडीको प्रदर्शन प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरेको हो ।
इटहरीमा बिहीबार प्रदेशकी सामाजिक विकास मन्त्री तथा बोर्डकी अध्यक्ष गीता तिम्सिनाले उद्घाटन गरेर सरु भएको विशेष प्रशिक्षण कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएर आएका विभिन्न विधाका १ सय ४४ जनाको सहभागिता रहेको थियो ।
दशौंमा कोशीबाट सहभागी हुने खेलाडीलाई उत्कृष्ट प्रदर्शन गराउँदै पदक जिताउने तयारीस्वरूप कार्यक्रम आयोजना गरिएको बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए ।
'प्रशिक्षकको क्षमता अभिवृद्धि, खेल प्रशिक्षणका नयाँ विधि तथा प्रविधिबारे जानकारी गराउनका लागि यस्ताखाले कार्यक्रम उपयुक्त हुन्छ,' उनले भने, 'यहाँ प्रशिक्षकले सिकेका कुराहरूले खेलाडीको प्रदर्शनमा पनि सुधार आउँछ भन्ने मैले विश्वास लिएको छु ।'
कोशीका प्रशिक्षकहरूलाई राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका पूर्वनिर्देशक सारथि सेन गुप्ता, नेपालको प्रमुख एथलेटिक्स प्रशिक्षक सुशील सिंह राना र वरिष्ठ एथलेटिक्स खेल प्रशिक्षक नारायणबहादुर प्रधानले प्रशिक्षण दिएका थिए ।
उनीहरूले खेल प्रशिक्षणका आधुनिक विधि, प्रशिक्षकको भूमिका, खेलाडीको क्षमता पहिचान तथा प्रतियोगिताका लागि आवश्यक तयारीका विषयमा प्रशिक्षण दिएका थिए ।
राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्वनिर्देशक सारथि सेन गुप्ताले यस्ताखाले कार्यक्रमले नतिजामा सुधार आउने मात्र नभएर खेलाडी र प्रशिक्षकबीच कुशल समन्वय हुने विश्वास राखे ।
तालिममा सहभागी फुटबल प्रशिक्षक मनिष तिम्सिनाले रिफ्रेसर कोर्सले नयाँ प्राविधिक ज्ञान थपेको जनाउँदै बोर्डको नयाँ प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रदेशको समग्र खेल प्रदर्शन सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बोर्डका प्रशासन प्रमुख विनोद पाण्डेले जानकारी दिए ।


