काठमाडौं — जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोका मगरले सानदार जित हासिल गरेका छन्।

निशिओ जिम्न्याजियममा बुधबार भएको पुरुष ६० केजी तौल समूहको प्रारम्भिक चरणमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को एकपक्षीय स्कोरमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन्।

जारी एसियाडमा नेपाली टोलीका तर्फबाट हासिल भएको यो पहिलो जित हो।

यसैबीच, आज नेपालका खेलाडीहरूले विभिन्न सात खेलमा प्रतिस्पर्धा गर्दैछन्। आजको मुख्य आकर्षण भने महिला कबड्डी टोलीको खेल रहेको छ। समूह ‘बी’ मा रहेको नेपालले आज चिनियाँ ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ।

नेपाल सम्मिलित समूह ‘बी’ मा चिनियाँ ताइपेईसँगै श्रीलङ्का र थाइल्यान्ड छन्। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ। आज चिनियाँ ताइपेईलाई हराउन सके नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना थप बलियो हुनेछ।

सन् २०२३ को हाङ्झाउ एसियाडमा कास्यपदक जितेकी मानमति विष्टको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ।

नेपालले भने अहिलेसम्म एसियाडमा पदकको खाता खोल्न सकेको छैन। कबड्डी र बक्सिङसँगै आज पौडी, कराते, स्क्वास, टेबलटेनिस र उसुमा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

यस एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी सहभागी छन्।