काठमाडौं—गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रम बीचमै छाडेर बाहिरिएका छन्।

शनिबार काठमाडौंको नयाँ बजारमा आयोजित कार्यक्रममा वक्ताहरूको संख्या धेरै भएपछि गुरुङ कार्यव्यस्तता देखाउँदै बीचमै बाहिरिएका हुन्। उनी बाहिरिएपछि आयोजक केही समय अलमलमा परेको थियो।

कार्यक्रमबाट बाहिरिने क्रममा गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासबारे प्रतिक्रिया दिएका थिए। उनले भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या सरकारले समाधान गर्ने बताए।

उनले दुर्गम तथा हिमाली क्षेत्रमा सडक निर्माण र बजेट व्यवस्थापनलाई सरकारले प्राथमिकता दिने उल्लेख गरे। नागरिकका समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो।