विराटनगर   —  नेकपा एमाले प्रदेश कमिटीले एउटै व्यक्ति दुईभन्दा बढि सङ्गठनमा बस्न नपाउने निर्णय गरेको छ। कोशी प्रदेश कमिटीको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले कुनैपनि व्यक्ति एकभन्दा बढी जनवर्गीय सङ्गठनमा रहन नसक्ने निर्णय गर्दै १५ दिनभित्र आफूले चाहेको सङ्गठन रोज्न नेता कार्यकर्ताहरुलाइ निर्देशन समेत दिएको छ ।

प्रदेश कमिटीले जारी गरेको अन्तर कमिटी निर्देशनमा भनिएको छ -‘अझैपनि एक व्यक्ति एक भन्दा बढि जनवर्गीय सङ्गठनमा रहेको थुप्रै ठाउँमा सप्रमाण देखिएकोले १५ दिन भित्र आफूले रोजेको एक जनसङ्गठनमा मात्र रहेको जानकारी सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउनु होला’ ।

यसअघि केन्द्रीय कमिटीबाट एक व्यक्ति, एउटा  जनसङ्गठनमा मात्रै बस्नुपर्ने  निर्देशन आएको र पार्टी र संगठनमा त्यसको जानकारी गराइएको भएपनि सो निर्देशन कार्यन्वयन नभएको पाइएकोले कडाइ गरिएको एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए । 

एक व्यक्ति दुई वा सो भन्दा बढी जनवर्गीय सङ्गठनमा रहेको भए  आफूले रोजेको कुनै सङ्गठनमा रहने भनिएको लामो समय भएपनि काार्यन्वयन नभएकोले १५ दिनको समय दिएर पुनः निर्देशन गरिएको उनले बताए  । निर्देशन पालना नगरेमा वा अटेर गरेमा त्यस्ता नेता कार्यकर्ताबारे एमाले प्रदेश कमिटीले आवश्यक निर्णय लिने खतिवडाले बताए ।