झापा — नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट प्रेमबहादुर गिरी अध्यक्षमा निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा शिव ढुङ्गेल निर्विरोध चयन भएका छन् ।
शनिबार बिहान १०.३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र अध्यक्ष र उपाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएको थियो । सचिवमा तुलसी कार्कीको चर्चा भएपनि सो पदमा सर्वसम्मत हुन सकेन ।
पुरुष उपसचिव पदमा असारु राजवंशी सर्वसम्मत चयन भएका छन् । उपसचिवमा भने असारु राजवंशी ,अनिता कन्दङ्वा र टीका मग्रान्तीले उम्मेदवारी दिएका थिए ।
यसअघि अध्यक्ष पदका लागि आकाङ्क्षा राखेका ढुङ्गेल उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनलाई प्रदेश कमिटीमा लैजाने चर्चा पनि रहेको थियो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि बिहीबार साँझबाट निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने भएको छ । त्यसका लागि करिब ३५० जनाले उम्मेदवारी दिएको जनाइएको छ । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रबारबाट बन्दसत्र सुरु भएको थियो। नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ।




















