काठमाडौं — सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समिकरणलाई दिगो, परिणामुखी र सफल बनाउन एमालेले सम्पूर्ण सामर्थ  केन्द्रित गर्ने बताएका  छन  ।

शनिबारबाट ललितपुरको गोदावारीस्थित सनराईज हलमा शुरु भएको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्  ।

अध्यक्ष ओलीले जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका रहेको उल्लेख गर्दै त्यसको खण्डन पनि कुनै मन्तव्य वा वक्तव्यबाट नभई व्यवहारबाटै दिने बताए । उनले जनतामा व्याप्त निराशा चिर्ने र देश अघि बढ्छ भन्ने विश्वास जगाउने गरी तिब्र रफ्तारका साथ काम गर्न सरकारलाई पनि सुझाव दिए ।

राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाईराख्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस खालको गतिविधि गरे आफै फस्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राख्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई सचेत गराए  ।

अध्यक्ष ओलीले एमालेले देश र जनताको हितका लागि नयाँ सत्ता समिकरण बनाएकाले त्यसमा पदीय लालचा नराखेको दाबी गरे ।

त्यस्तै अध्यक्ष  ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्याहरु औंल्याएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टी निर्माणमा देखिएका ६ समस्या छलफलका लागि प्रस्तुत गरेका हुन् ।

उनले भने, ‘हामीले केही समस्याहरुको सामना गरिरहेका छौं, जसलाई यस बैठकमा बृहत छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेछ । यहाँ मैले छलफलका लागि मुख्यतया ६ वटा विषय प्रस्तुत गर्न चाहन्छु, जसमा कमरेडहरुको सघन छलफल र गहन निष्कर्षको अपेक्षा गरिएको छ ।’

यी हुन् ६ समस्या

पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षणको सम्बन्धमा

प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयनका सम्बन्धमा

कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्यांकन सम्बन्धमा

कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण सम्बन्धमा

आर्थिक-सामाजिक रुपान्तरण र जनचासोका विषय सम्बोधन गर्ने सवालमा

निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा ।