काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (सोमबार) सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए ।
उनले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाए । उनले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको आरोप लगाए । उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरु लाग्ने चेतावनी दिए । उनले भने, ‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चाद राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो ।’
उनले भने, ‘ नैतिक रुपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ । संसदीय व्यवस्थामा गणितको ठूलो मूल्य हुन्छ, यो विभाजनमा स्वयं प्रधानमन्त्री ज्यूले नै यसमा मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन । १२ को संख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रुपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम गर्यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ ।’ सांसद यादवले विभाजित भएर जाने नेताहरुले आफूहरुको आन्दोलनमा घाटा हुने बताए ।




















