काठमाडाैं ।  मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षी दलहरुले आज (शुक्रबार) प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन्। बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको छ। 

उक्त सहमतिअनुसार आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी विपक्षी गठबन्धनका तीन दलले गरेका हुन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशमा जनमत पार्टीको नेत्तृत्वमा सरकार बन्न लागेको दाबी गर्दै आजै प्रदेश प्रमुख समक्ष दाबी पेस गरिने जानकारी दिएका छन्।

सीके राउतको सचिवालयले आज (शुक्रबार) एमाले, माओवादी केन्द्र र जनमत पार्टीका प्रदेश संसदीय दलका नेताले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने जानकारी दिएको हो।  तर, मधेसमा एमाले, माओवादी र जनमतको सांसद संख्याले मात्रै नयाँ सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन। त्यसको लागि नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ। 

तर, तीन दलबीच हिजो भएको सहमतिमा नेकपा एकीकृत समाजावादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताले हस्ताक्षर गरेका छैनन्। एमाले, माओवादी र जनमतबीचको सहमतिमा नेकपा एस र लोसपाको पनि समर्थन रहेको दाबी तीन दलका नेताले गर्दै आएका छन्। 

जनमतको नेतृत्वमा सरकार बनाउन सहमति गरेका पाँच दलले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।