काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् । आगामी एक साताभित्र मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

एक हप्ताभित्र क्याबिनेट पुनर्गठन गर्ने प्रधानमन्त्रीले बताएको स्रोतको दावी छ । जसका लागि उनले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल अघि बढाएका छन् । प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी हुनेगरी तयारी थाल्न भनिसकेका छन् । नागरिक उन्मुक्तिलाई एक मन्त्री र अर्को राज्यमन्त्री दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीले तयारी गरेको र आफ्नो पार्टीबाट दुई जना मन्त्रिपरिषद्मा सहभागी हुने जानकारी दिइन् । मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय लिएर सरकारमा सहभागी हुने पनि उनले बताइन् । मन्त्रालयको जिम्मेवारी अध्यक्ष श्रेष्ठ आफैले लिनेछिन् । राज्यमन्त्रीबारे पार्टीमा छलफल हुन बाँकी छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्वमा अहिले माओवादी केन्द्रका हितबहादुर तामाङ छन् ।

रञ्जिताले केही समयअघि नै आफू मन्त्री नहुने संकेत गर्दै आएकी थिइन् । त्यसैले, अहिले उनलाई मन्त्री हुन रोक्नुपर्ने तर्क पनि पार्टीभित्र उठेको स्रोत बताउँछ । तर, पार्टीभित्र जे कुरा उठेको भए पनि संरक्षक रेशम चौधरी जसरी पनि यो पटक रञ्जितालाई मन्त्री हुनबाट रोक्ने खेलमा लागेको नाउपा स्रोतको दावी छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीलाई नै भेटेर रेशम चौधरीले विकल्पको बाटो खोज्ने परिस्थिति निर्माण गरिदिन विशेष आग्रह गरेका थिए । स्रोतका अनुसार, राष्ट्रिय पार्टी नभएको दललाई विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी कानूनी बाटो खुला गरिदिन रेशमले ओलीसँग कुराकानी गरेका छन् । पति रेशमको त्यही दौडधुपका कारण श्रीमती रञ्जिताको मन्त्री नियुक्तिमा ढिलाई भएको दावी गरिएको छ । पार्टीभित्र रेशम चौधरी बलियो देखिएका छन् । तर, अध्यक्ष कार्यकारी अधिकारसहित श्रीमती रञ्जिता बलियो भएका कारण कानूनी बाटोबाट रेशमले तत्काल कुनै निर्णय लिन सक्ने अवस्थामा रहेका छैनन् ।

नाउपाका सांसदमा पनि दुईधारमा देखिएका छन् । नाउपाका ४ जना सांसदमध्ये दुई/दुई जना रहेका छन् । तर, रञ्जिता भने आफू मन्त्री र एक जना सांसदलाई राज्यमन्त्री बनाएर ३ जना सांसद आफ्नो पक्षमा पार्ने प्रयासमा रहेकी छिन् । त्यस्तो अवस्थामा रेशमका बाबु मात्रै रञ्जिताको विपक्षमा हुने सम्भावना रहेको छ । अहिले रेशमले मन्त्री हुनबाट रोक्न खोजेपछि नाउपाभित्र फेरि अर्को खाले विवाद देखिन थालेको छ ।