काठमाडौं—नेकपा (एमाले) मा रहँदा एमालेका नीति, बिचार र निर्णयलाई पटकपटक लत्याउँदै र आलोचना गर्दै आउनु भएका डा. भीम रावल केही समय अघि मात्रै पार्टीबाट निष्कासित हुनुभयो । पार्टीबाट निष्कासित भएपछि रावलले बुधबार करीब ३५ पृष्ठ लामो बिलौनापत्र बाचन गर्दै देशभर ‘मातृभूमि जागरण अभियान’ चलाउने भ्रम फैलाइदिनुभयो । उहाँका ती भ्रमले मूलधारका मिडिया र युट्युवहरु रंगिन बने । ७४ बुँदामा समेटिएको उहाँको बिलौना पत्रमा रावलले चार दर्जन पटक वर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति कुण्ठाग्रस्त आक्रोशका मट्याङ्ग्राहरु धाराप्रवाह रुपमा हान्नुभयो ।

राष्ट्रघाती, भ्रष्टाचारी, अन्यायी, दुष्ट जस्ता तुच्छ शब्द मात्रै होइन प्रधानमन्त्री ओलीको नाम नै लिएर रावलले स्वेच्छाचारी, निरंकुश, तानाशाही, ध्वंसात्मक, कुण्ठाग्रस्त, षड्यन्त्रकारी, पूर्वाग्रही, अलोकतान्त्रिक भएको समेत तथ्यहीन र कुण्ठाग्रस्त आरोप लगाउनुभयो ।

दसौं महाधिवेशनमा हार्ने निश्चित हुँदाहुँदै पनि ओलीसँग प्रतिष्पर्धा गर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिनु भएका रावल पराजितपछि एमालेमा कतै पनि सक्रिय भएको देखिएको छैन । तर, बुधबार बाचन गरेको बिलौना पत्रमा उहाँले ओलीलाई संगठनको नेतृत्व गर्न नसक्ने, निषेधकारी, द्वेषी, धोकेबाज, अविश्वसनीय, झुट, असहिष्णु, स्वार्थी, सिद्धान्तहीन, आदर्शहीनजस्ता शब्द र्खच गरेर आफूलाई राष्ट्रवादी छवि भएको नेताको जलप लगाउने गफ चुट्नुभयो ।

नामका अघि डाक्टर राखेपछि आफू मात्रै विद्वान हुँ भन्ने भ्रमको त्यान्द्रो समातेर बौद्धिकताको पिङ खेल्दै लम्बेतान पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीप्रति भँडास पोखेर रावलले ओलीसँग आफू कतिसम्म कृतघ्न छु भन्ने कुराको मुखुण्डो खोदिदिनुभयो र आफैलाई उदाङ्गो बनाइ दिनुभयो ।

२०४६ सालमा झलनाथ खनाल अन्तरिम सरकारको मन्त्री बन्दा सल्लाहकार, ०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटन मन्त्री, २०६४ मा समानुपातिक सभासद, २०६६ मा गृमन्त्री र २०७२ मा उपप्रधान सहित रक्षामन्त्री बनेर अवसरका पहाडमाथि राइँदाइँ गरेको इतिहासलाई भुलेर रावलले आफूलाई कार्की बैंकेटमा उदाङ्गो नै बनादिनुभयो । देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणको भुलभुलैयामा पौडी खेलिरहनु भएका रावलका ती तुच्छ टिप्पणीलाई समेत मूल्याङ्कन गर्दै अहिले धेरैले उहाँको अभियानको मुल्को त्यहिँबाट हराएको टिप्पणी गर्न थालेका छन् ।

एमालेमा रहुन्जेल पटक–पटक हुँडलो मच्याउने रावलले अहिले राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान सबै संकटमा परेको र ती सबैलाई नयाँ अवतारका रुपमा आफूले खोल्ने वैकल्पिक पार्टीले ‘छू मन्तर’ गर्दै जादु जसरी समाधान दिने चुनौती दिदैँ आउनु भएको छ । रावलको भविष्य के–होला भन्ने अहिले नै अनुमान त गर्न सकिने अवस्था छैन् । तर, विगतमा यसैगरी चुनौती दिएर पार्टीबाट चोइटिएपछि ‘घरको न घाटको’ अवस्थामा पुगेका केही नेताहरुको इतिहास केलाएर हेर्ने हो भने रावलको हविगत पनि सुधारोन्मूख होला भन्ने विश्वास गर्ने कुनै आधार भेटिदैँन ।

आफू शक्तिमा रहेका बेला सधैँ पेल्ने स्वाभावका रावलले वैकल्पिक शक्तिको नेतृत्व गरिहाले पनि आफूलाई अब्बल सावित गर्ने कुनै आधार देखिन्न । आफूलाई मात्रै केन्द्रित गर्ने र सन्की स्वाभाव पनि उहाँका लागि बाधक बन्ने निश्चित जस्तै देखिन्छ । कुनै बेला सुदुरपश्चिको एमालेमा उहाँको दवदवा थियो । उहाँको दवदवा रहेका बेला पेलानमा परेका भुक्तभोगीहरुका अनुभवले पनि रावलले नेतृत्व गर्ने भनेको शक्तिले सबैलाई न्याय दिएर अघि बढ्ला भन्ने अनुमान गर्दा हतार हुने प्रष्टिकरण दिदैँ आएका छन् ।

पद लोलुप्ततामा चुर्लुम्म डुब्नु भएका रावलबारे धेरै किस्साहरु बन्ने गरेका छन् । ‘भीम रावलले नेतृत्वलाई गर्ने आलोचनामा लगाम लगाउने हो भने उनलाई मन्त्री वा सांसद पदबाट कहिल्यै टाढा राख्नु हुन्न’ भन्ने एउटा चर्चित किस्सा नै छ । रावलको इतिहास हेर्ने हो भने साँच्चिकै त्यो किस्सा उहाँकै लागि बनेको जस्तो देखिन्छ । जब उहाँ पद बाहिर रहनुहुन्छ त्यतिबेला नेतृत्वप्रति उहाँले गर्ने आलोचना उच्च विन्दुमा पुगेको हुन्छ । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा उपाध्यक्ष हारेपछि केन्द्रीय सदस्यको समेत सपथ खान नमानेर नेतृत्वको आलोचना गर्दै आउनु भएका रावल २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएपछि हतार हतार भर्याङ्ग मुनी केन्द्रीय सदस्यको सपथ खाएको सन्दर्भ पनि उहाँको आनीवानीसँग जोडिएको अर्को चर्चित किस्सा हो । यो आलेखमा रावलबारे यति चर्चा गरेपछि नेतृत्वलाई चुनौती दिएर बैकल्पिक शक्ति निर्माणको अभियानमा लाग्दा भ्रान्तिमा परिणत भएका केही नेताहरुका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

डाक्टर बाबुराम भट्टराई

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका डाक्टर बाबुराम भट्टराईलाई कुनै बेला अहिले भीम रावलको जस्तै वैकल्पिक  शक्ति निर्माण गरेपछि शक्तिमा पुगिन्छ भन्ने ठूलो भ्रम थियो । त्यहि भ्रमको त्यान्द्रोमा पिङ खेल्दै भट्टराईले २०७२ साल असोज ३ गते संविधान जारी भएको ६ दिनपछि माओवादी पार्टी त्यागको घोषणा गर्नुभयो । अहिले रावलकै जस्तो ठ्याक्कटै बाबुरामले पनि त्यतिबेला राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डता संकटमा परेको भन्दै त्यसप्रति प्रतिवद्ध रहने उल्लेख गर्नुभएको थियो ।

२०७२ असोज ९ गते पार्टी परित्याग गर्दै उहाँले समावेशी र समानुपातिक लोकतन्त्र, संवृद्धि, सामाजिक न्याय र सदाचार आफ्नो प्रतिवद्धता भएको पनि उल्लेख गर्नुभएको थियो । परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको भन्दै समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टीको आवश्यकता औँल्याएर आफू त्यता लागेको उहाँको भनाई थियो ।

उहाँले पार्टी परित्यागको झण्डै आठ महिनापछि २०७३ साल जेठ ३० गते ‘नयाँ शक्ति पार्टी’ घोषणा गरे पनि आशातीत सफलता प्राप्त गर्न नसकेपछि २०७६ वैशाख २३ गते वैकल्पिक शक्तिको बेलुन फुटेको थियो । त्यहि फुटेको शक्तिको बेलुन सङ्घीय समाजवादी फोरममा पुगेर विलिन भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो ।

त्यहाँ पनि टिक्न नसकेपछि बाबुरामले अलगको बाटो रोज्नुभयो र उहाँको नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बन्यो । त्यो पार्टीले पनि वैकल्पिक  शक्तिको लय समात्न नसकेपछि अहिले बाबुराम भ्रान्तिमा हुनुहुन्छ ।

बामदेव गौतम

नेकपा (माले) र माक्र्सवादीवीच एकता भएर नेकपा (एमाले) बन्दा संस्थापक केन्द्रीय सदस्य बन्नुभएका बामदेव गौतम ०४९ को पाँचौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बन्नुभएको थियो । ०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री बन्नुभयो । अध्यक्ष र महासचिव दुबै सरकारमा गएपछि त्यतिबेला गौतमलाई उपमहासचिव बनाइएको थियो । गौतमको २०५२ सालमा एमाले सरकारबाट बाहिरिएपछि उपमहासचिव पद खारेज भयो । ३ जेठ २०५० मा तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधनपछि संगठन विभाग प्रमुख बन्नु भएका गौतम ०५२ सालसम्म शक्तिमा हुनुहुन्थ्यो ।

उपमहासचिवबाट हटाएपछि रुष्ट बन्नुभएका गौतम २०५३ असोजमा संसदबाट महाकाली सन्धि अनुमोदन गर्ने विषयलाई लिएर एमालेमा विवाद बढ्दा उहाँलगायत सन्धिको विपक्षमा उँभिनुभयो । विवाद बढ्दै गएपछि २०५४ सालमा सम्पन्न एमालेको छैटौं महाधिवेशनपछि पार्टी फुटको अवस्थामा पुग्यो भने गौतमलगायतले नेकपा माले गठन गरे । ०५६ को चुनावमा मालेले शून्य सीट हात पा¥यो । त्यसपछि रन्थनिएका गौतम ०५८ सालमा पुनः एमालेमै फर्किनुभयो । त्यसपछि पनि पार्टी भित्र बेलाबेलामा हुँडलो मच्याइरहने गौतम नेकपा कालमा कहिले प्रचण्ड कित्तामा उँभिएर त कहिले केपी ओली कित्तामा उँभिएर हुँडलो मच्याउन थाल्नुभयो । उहाँ लगाएतका कारण इतिहासमा सबै भन्दा शक्तिशाली बनेको कम्युनिष्ट पार्टी अलग–थलग भयो । हुँडलो मच्याउने बामदेव पनि शक्ति बिहीन हुनुभयो ।

पटकपटक बिकल्प खोजेर शक्तिमा आउन रहर गर्ने गौतमले २०७९ असार १४ मा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुभयो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकीकरण गर्ने उदेश्यसहित अभियान घोषणा गरेको भने पनि त्यसले कुनै गति लिन सकेन् बरु गौतम पनि बाबुराम जस्तै वल्लो घाट न पल्लो तिरको भएपछि अहिले कता विलिन हुने भनेर खुट्टा उचालेर बस्नु भएको छ र उहाँको भ्रान्तिको यात्रा कता पुगेर टुंगिने हो निश्चित छैन ।

अशोक राई

नेकपा (एमाले) को उपाध्यक्षको जिम्मेवारीमा रहनु भएका अशोक राइ पहिचानको मुद्दामा फरक मत राख्दै नयाँ शक्ति निर्माणको धम्की दिदैँ २०६९ मा एमाले छाडेर हिँड्नु भएको थियो । २०४८ मा खोटाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका राई ०५१ मा खोटाङ २ बाटै प्रतिनिधिसभामा चुनिनु भएको थियो । एमाले छाडेर तत्कालीन संघीय समाजवादी पार्टी गठन गर्नु अघिसम्म राई शक्तिमै हुनुहुन्थ्यो । ०५१ मा एमालेबाट यातायातमन्त्री हुनुभएका राई ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो भने ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री बन्नुभएको थियो । संघीय समाजवादी पार्टी गठन गरेपछि राईको ओरालो यात्रा सुरुभयो । संघीय समाजवादी चाउरिन थालेपछि उपेन्द्र यादवसँग एकताको हात बढाएर जसपा नेपाल बनाए पनि उहाँको सुदिन देखिएका थिएनन् ।

एमाले छाडेको दशकपछि अर्थात २०७९ को निर्वाचनमा अशोक एमालेकै वैशाखीमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । ओलीकै आडभरोसाले शिक्षामन्त्री बन्नुभएका राई अहिले उपेन्द्रसँग पनि कुरा मिल्न नसकेपछि आफ्नै नेतृत्वमा जसपा गठन गरेर बस्नु भएको छ । उहाँको पनि बैकल्पिक यात्रा भ्रान्तिमा परिणत भएको छ । कुनै बेला शक्तिमा रहनु भएका सीपी मैनाली लगायतको अवस्थालाई हेर्ने हो भने पनि दयनीय देखिन्छ ।

वैकल्पिक शक्तिको भुलभुलैयामा तैरिरहनु भएका रावलको हविगत पनि केही समयपछि भ्रान्तिमा परिणत हुने निश्चित जस्तै छ भन्ने अनुमान गर्न सकिन्छ । वैकल्पिक शक्तिको भुतभुतेमा रमाइ रहनु भएका भीम रावलको राष्ट्रवादी रटान भालुभुत्ते हुन धेरै समय नलाग्ने अनुमान धेरैको छ । त्यसको परिणाम हेर्नचाँहि केही समय पर्खिनै पर्ने हुन्छ ।

 मैत्री न्युज बाट