काठमाडौँ— चाडबाडको मुखमा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकाहरू अवरुद्ध भएका छन्। दसैँ–तिहार नजिकिँदै गर्दा बाढी र पहिरोका कारण चीनसँग जोडिएका प्रमुख तीनवटै नाका अवरुद्ध भएका हुन्।
गत भदौ १० गते आएको बाढीले संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने रसुवागढी नाका ध्वस्त पारेको थियो। रसुवागढी नाका ध्वस्त भएपछि विकल्पका रूपमा प्रयोग भइरहेको कोरला नाका पनि तीन दिनको लगातार झरीका कारण अवरुद्ध भएको छ। यस्तै, अर्को प्रमुख नाका सिन्धुपाल्चोकको तातोपानी पनि विगत एक महिनादेखि बन्द छ।
नाका बन्द हुँदा सयौँ मालवाहक कन्टेनर बाटोमै अलपत्र परेका छन्। चाडपर्वकै बेला प्रमुख नाका बन्द भएपछि यसको प्रत्यक्ष प्रभाव बजारमा पर्ने व्यवसायीहरू बताउँछन्।
नेपाली बजारमा लत्ताकपडादेखि विभिन्न खाद्यान्न सामग्रीसम्म चीनबाट आयात हुने गर्दछ। विशेष गरी चाडपर्वका बेला चीनबाट दुई–तीन महिनाअघिदेखि नै ठूलो परिमाणमा सामान ल्याउने गरिन्छ। तर, पछिल्लो दुई–तीन महिनायता चीनसँगका प्रमुख नाकाहरू पटक–पटक अवरुद्ध हुँदा महिनौँदेखि मालसामान बाटोमै अलपत्र अवस्थामा छन्। बाटो अवरुद्ध भएपछि अर्बौं रुपैयाँ बराबरको सामान अलपत्र परेको व्यवसायीहरूको भनाइ छ।
ऋण लिएर व्यापारीहरूले चाडपर्वका लागि मगाएको सामान बाटोमै रोकिँदा ठूलो मार परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए। उनका अनुसार अर्बौं रुपैयाँ बराबरको सामान अलपत्र छ। कति सामान चीनतर्फ रोकिएका छन्, कति नेपाल भित्रिएका छन् र कति नेपाल भित्रिएर पनि बाटोमै रोकिएका छन् भन्ने यकिन विवरणसमेत स्पष्ट हुन सकेको छैन। हाल हजारभन्दा बढी मालवाहक कन्टेनर बाटोमै अलपत्र परेको उनको भनाइ छ।
यी प्रमुख नाकाबाहेक विभिन्न जिल्लामा अन्य साना नाकाहरू सञ्चालनमा रहे पनि तिनबाट ठूलो परिमाणमा व्यापार हुन सकेको छैन। सीमित ठाउँका लागि सानो परिमाणमा मात्र कारोबार हुँदै आएको छ। बाटोको जीर्ण अवस्थाका कारण पनि ती नाकाबाट ठूला मालवाहक कन्टेनर ल्याउन असम्भव छ। यसबाहेक हवाई मार्ग मात्र विकल्पका रूपमा बाँकी छ, जसबाट सबै प्रकारका मालसामान ल्याउन सम्भव हुँदैन।
कुन नाकाको अवस्था कस्तो छ? गत भदौ १० गतेको बाढीले रसुवागढी नाका बगाएपछि यो तत्काल सञ्चालनमा आउने सम्भावना न्यून छ। भोटेकोशीमा आएको बाढीपछि तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द गरिएको छ। यो नाका कहिले खुल्ने भन्ने टुङ्गो छैन। हाल तातोपानी नाकामा नेपालतर्फ डेढ सयभन्दा बढी खाली कन्टेनर लामबद्ध छन्।
उता, कोरला नाका पनि बाढीका कारण अवरुद्ध भएको छ। कालीगण्डकी नदीको बाढीले कालीगण्डकी करिडोरका तीनवटा पुलको पहुँच सडक (एप्रोच रोड) बगाएको छ। तनहुँ र नवलपरासी जोड्ने डेढगाउँको पुल, मालढुङ्गाको पुल तथा म्याग्दीको पोखरेबगर र भुरुङ–तातोपानी जोड्ने पुलको पहुँच सडक बाढीले बगाएको हो।
भदौ १२ गतेदेखि तातोपानी नाका पूर्ण रूपमा बन्द छ र कहिले खुल्छ भन्ने अझै निश्चित छैन। अब कहिले खुल्छ भन्ने आधिकारिक जानकारी नआएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले बताए। नेपाल–चीन सबैभन्दा पुरानो यो व्यापारिक नाकातर्फको सडकमा अहिले खासै समस्या नभए पनि चीनले पहिरोको जोखिम देखाउँदै आवतजावत रोकेको हो। तातोपानी नाका खुलाउन व्यवसायीहरूले निरन्तर माग गरे पनि दुई देशबीचको उच्च तहमा प्रभावकारी कूटनीतिक पहल हुन नसकेको व्यवसायीहरूको गुनासो छ।
उत्तरी सीमाका तीनवटै नाका एकसाथ अवरुद्ध हुनु, समुद्री मार्गबाट सामान ल्याउन लामो समय लाग्नु र ढुवानी लागत अत्यधिक बढ्नुले यस वर्षको दसैँ निकै महँगो हुने व्यवसायीहरू बताउँछन्।
समुद्री र हवाई मार्गबाट सामान ल्याउन सम्भव छ? उत्तरी नाकामा आएको अवरोधले मालसामानको ढुवानी लागत अस्वाभाविक रूपमा बढाएको छ, जसको सोझो असर बजार मूल्यमा परेको छ। व्यवसायीहरूका अनुसार सामान्य अवस्थामा रसुवागढीबाट काठमाडौँसम्म एउटा कन्टेनर सामान ढुवानी गर्दा करिब एक लाख रुपैयाँ भाडा लाग्ने गर्दथ्यो। तर, कोरला नाका प्रयोग गर्दा सडकको दूरी लामो, बाटो अत्यन्तै अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण कन्टेनर भाडा चार लाखदेखि साढे पाँच लाख रुपैयाँसम्म पुगेको छ।
सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि समुद्री मार्गको विकल्प रहे पनि दसैँ–तिहार नजिकिइसकेकाले अब समुद्री नाकाबाट सामान ल्याउन सम्भव छैन। चीनका विभिन्न बन्दरगाहबाट सिङ्गापुर हुँदै भारतको कोलकाता बन्दरगाह भएर नेपाल सामान ल्याउन सामान्य अवस्थामा पनि ३० देखि ४५ दिन लाग्छ भने ढुवानी खर्चसमेत झन्डै दोब्बर बढी पर्छ।
अर्कोतर्फ हवाई कार्गोबाट सामान ल्याउँदा प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार तीन सय रुपैयाँसम्म खर्च लाग्छ। यति महँगो भाडा तिरेर लत्ताकपडा वा घरायसी सामान ल्याई नेपालको बजारमा बेच्न सम्भव नै नहुने व्यवसायीहरू बताउँछन्।
आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध हुँदा राजधानी काठमाडौँको आपूर्ति शृङ्खला नै प्रभावित भएको छ। राजधानीबाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यसअघि नै अभाव रहेको खाना पकाउने ग्यासको आपूर्ति समस्या पनि थप बढेको छ। आपूर्ति रोकिँदा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ, जसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ।
काठमाडौँमा हरियो तरकारीको भाउ ७० प्रतिशतसम्म बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा सबैभन्दा बढी हरियो भटमास कोसा, गोलभेँडा, हरियो प्याज, हरियो फर्सी, साग, बन्दा लगायतका तरकारीको मूल्य बढेको छ।
गएको असोज ५ गते हरियो भटमास कोसा प्रतिकिलो थोक मूल्य ११० रुपैयाँमा कारोबार भएको थियो। असोज ११ गते यसको मूल्य १९० रुपैयाँ पुगेको छ। यो मूल्य ७२.७२ प्रतिशतले बढेको हो। यस्तै, असोज ५ गते गोलभेँडा सानो लोकल प्रतिकिलो ३७ रुपैयाँमा कारोबार भएकामा असोज ११ गते आइपुग्दा ६५ रुपैयाँ पुगेको छ। यो ७१.५९ प्रतिशतको मूल्यवृद्धि हो।
समितिका अनुसार भारतीय रातो आलुको मूल्य प्रतिकिलोमा १० प्रतिशतले बढेको छ भने रातो आलु लाम्चो ६.५२ प्रतिशतले बढेको छ। मुडेको रातो आलुको मूल्य भने यथावत् रहेको छ। यसैगरी भारतीय सुकेको प्याजको मूल्य ५.५६ प्रतिशत र लोकल बन्दाको मूल्य २३.८१ प्रतिशतले बढेको छ।


