काठमाडौं—भारतको आन्ध्र प्रदेशमा ३३ वर्षीया एक महिलाको पेटबाट चिकित्सकले १३ वटा कलम, पाँच वटा काठका चम्चा र एउटा मैनबत्ती जस्तो वस्तु सफलतापूर्वक निकालेका छन्।
आन्ध्र प्रदेशको पालनाडु जिल्लाको नरसारावपेटकी ती महिलालाई छातीको बायाँ भागमा तीव्र दुखाइ भएपछि परिवारले माताश्री अस्पतालमा भर्ना गरेका थिए।
उपचारका क्रममा गरिएको ईसीजी रिपोर्ट सामान्य आए पनि इन्डोस्कोपी र त्यसपछि गरिएको सिटी स्क्यानमा पेटभित्र लामो आकारका विभिन्न वस्तु रहेको पुष्टि भएको चिकित्सक रामचन्द्र रेड्डीले बताए। त्यसपछि शल्यक्रिया गरेर ती सबै वस्तु निकालिएको हो।
अस्पतालका अनुसार शल्यक्रिया सफल भएको छ र महिलाको स्वास्थ्य अवस्था अहिले स्थिर छ।
चिकित्सकका अनुसार ती महिला मानसिक स्वास्थ्य समस्याबाट पीडित थिइन्। महिलाले आफ्ना पितासँग भएको झगडापछि रिसको आवेगमा ती वस्तुहरू निलेको बताएकी छन्।


