काठमाडौं— नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वर्तमान सरकारप्रति व्यङ्ग्य गर्दै सरकारका कामकारबाहीमाथि प्रश्न उठाएका छन्।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत सरकारका गतिविधिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै ‘नयाँ’ भनिए पनि त्यसको प्रगति कसरी मापन गर्ने भन्ने प्रश्न गरेका हुन्।

उनले लेखेका छन्, ‘नयाँ भन्या नयाँ हो के, अरू छु मतलब? ट्याँ टुँ, भिजिहट भिसा बन्द, एउटै मन्त्रीका तिन दर्जन सल्लाहकार, महँगी स्वाट्टै घट्यो, लगानी ह्वात्तै बढ्यो, विदेशी गल्लीमा नेपाली रित्तिए, प्रगति पो के ले नाप्ने?’

बाँस्कोटाले सरकारको विरोध गर्न पाउने नागरिक अधिकारको विषयलाई समेत व्यङ्ग्यात्मक ढङ्गले उठाएका छन्। उनले सरकारको विरोध गर्नका लागि अस्पतालको आँगनमै बच्चा जन्माएको भनी सरकारका केही समर्थकहरूले गरेको आलोचनाप्रति पनि कटाक्ष गरेका हुन्। उनले लेखेका छन्, ‘सरकारको विरोध गर्न आँगनमै बच्चा जन्माउन चैँ नहुने के–मान्छेले।’

बाँस्कोटाको पछिल्लो टिप्पणीमा सरकारले दाबी गर्दै आएको ‘नयाँ’ तथा उपलब्धिमूलक कामकारबाहीप्रति व्यङ्ग्य गर्दै महँगी, वैदेशिक रोजगारी तथा पलायन, भिजिहट भिसा र सरकारी नियुक्तिमा सल्लाहकारको सङ्ख्याजस्ता विषय उठाइएको छ।