राजविराज— युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकपेटीमै शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

गृहजिल्ला सप्तरी आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटनाबारे जानकारी लिँदै परिवारसँग भेटघाट गरेका छन्।

उनले घटनामा दोषी देखिएकामाथि कारबाही प्रक्रिया अघि बढिसकेको बताएका छन्।

गत बुधबार ३० वर्षीया बबिता पासवान सुत्केरी हुन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। आवश्यक रकमको जोहो गर्न नसकेपछि उनले अस्पतालको गेटबाहिर सडकपेटीमै छोरालाई जन्म दिएकी थिइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएपछि देशभर चर्चा भएको थियो।