काठमाडौं,६ बैशाख । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना नवनियुक्त मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ। जसपाले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ। जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन्।

जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता सहसराम यादवले पार्टीले फिर्ताको निर्णय गरिसकेको र निर्णय नमाने कारबाहीको प्रक्रिया अघि बढ्ने बताए। यादवले भने, ‘यो पार्टीको आधिकारिक निर्णय हो। उहाँहरुले निर्णय मान्नुभएन भने कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ।’

निर्णय अनुसार पार्टी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै फिर्ता नभएमा सांसद पद नरहने गरी कारबाहीको चेतावनी दिएका हुन्।आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जनालाई पोखरेलले सोमबार मन्त्री बनाएका थिए। सोमबार नै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

पोखरेलले सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए। यस्तै सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।लोकपाटी बाट

samajbadi