काठमाडौं,२७ बैशाख । आफ्नी छोरीलाई मत हालेर नजिताए देश दुर्घटनामा पर्ने धम्की दिँदै हिँड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले २४ घण्टे पुर्जी काटेको छ ।

आयोगले २४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टीकरण दिन पत्र काटेको हो । वैशाख २३ गते चितवन जिल्ला भरतपुर महानगरपालिकामा आयोजित स्थानीय तहको आमसभामा प्रचण्डले छोरी रेणुलाई चुनाव नजिताए देशमा दुर्घटना हुने धम्कीपूर्ण चेतावनी दिनुभएको थियो ।

हरेक राजनीतिक दल, यसका नेता तथा कार्यकर्ता र नागरिकको व्यवहार तथा अभिव्यक्ति संविधान र प्रचलित कानुन सम्मत हुनुपर्नेमा आयोगले जोड दिएको छ । ‘यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिन्हमा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्नुको अन्तर्निहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुन विपरीत छ, छैन ? जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ, हुँदैन ? यहाँको अभिव्यक्तिले बालिगको स्वतन्त्र मताधिकारको प्रयोग गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ?’, आयोगले प्रचण्डलाई प्रश्न गरेको छ ।

आयोगले पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेश गर्न समय दिएको छ ।

280624758_4876815679084310_2264638426013952518_n(1)