काठमाडौं,१९ कात्तिक । काठमाडौं जिल्ला अदालतले ब’ ला त्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार थुनछेक बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ। अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म सन्दीप कारागारमै रहनेछन्। वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, सविता भण्डारी बराल, कृष्णप्रसाद सापकोटा, रमणकुमार श्रेष्ठ, अधिवक्ताहरु रोशनी पौडेल, सुधा रिजाल, मुरारी सापकोटा, प्रविण सुवेदी, अनुराग सुवेदी, सुवास पाठकले सन्दीपका तर्फबाट बहस गरेका थिए।

उनीहरुले साधारण तारेख वा जमानत लिएर सन्दीपलाई छाड्न गरेको आग्रहलई अदालतले स्वीकार गरेन। उनीहरुले पीडितको जन्मदर्ता र नागरिकतामा फरक उमेर रहेको भन्दै जन्मदर्तालाई आधार मान्दा निजको उमेर १९ वर्ष हुने दाबी पेश गरेका थिए।

यस विषयमा अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउने आदेश दिएको छ। साथै पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउन पनि भनिएको छ ।

सन्दीपलाई कारागार पठाउँदै गर्दा अदालतले पीडितको भनाई, मिसिल संलग्न सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादी (सन्दीप) को बयान ब्यहोराबीच आपसमा तादाम्यता रहेको पाइएको उल्लेख गरेको छ। ‘पीडितसँगै प्रतिवादी रातभर एउटै कोठामा रहेकोमा विवाद देखिँदैन।

सिसिटिभी फुटेजको दृश्यलाई प्रतिवादीले अन्यथा भनेका छैनन्।’ आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी निर्दोष छन् भनी मान्न मिलेन।’सन्दीपले आफ्नो जिम्मेवारी र सार्वजनिक जीवनलाई समेत ख्याल नगरेको विषयमा पनि न्यायाधीशले प्रश्न उठाएका छन्।

‘प्रतिवादीले भोलिपल्ट अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्न जाँदै गर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, विचार नगरी, आफ्नो पब्लिक स्टाटस (सार्वजनिक जीवन) लाई पनि ख्याल गर्नुपर्नेमा सो नगरी आफ्नो दिनचर्या एवं क्रियाकलाप पब्लिक ​अडिट हुन्छ भन्नेतर्फ समेत सचेत रहेको अवस्था देखिएन।’ आदेशमा भनिएको छ।

अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरू र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि मंसिर ७ मा उपस्थित गराउने आदेश पनि गरेको छ। लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती क’ र णी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।