काठमाडौं,२७  जेठ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको संगठनलाई गाउँ गाउँमा पुर्‍याउनु पर्ने बताउनुभएको छ । 

शनिबार नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेस पार्टीलाई नयाँ ऊर्जाका साथ अघि बढाउनु पर्ने बताउनुभयो । 

नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनमा भएको सहभागिताले  पार्टीलाई ऊर्जा दिएको उहाँले बताउनुभयो । ‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलन मार्फत हरेक जिल्लामा पार्टीको संंगठनलाई गाउँ गाउँमा, वडा वडामा, घरघरमा पुर्‍याए यो पार्टीलाई मजबुत बनाउने काममा भक्तपुरबाटै सफलता मिलोस्’, देउवाले भन्नुभयो । 

नेपाली कांग्रेस पार्टी २००७ सालदेखि लड्दै आएको ऐतिहासिक पार्टी भएको देउवाले स्मरण गराउनुभयो । यस्तो पार्टीलाई गाउँसम्म पुर्‍याएर पार्टी र प्रजातन्त्रलाई बलियो बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेस जति जनस्तरमा सुदृढ हुन्छ प्रजातन्त्र पनि त्यति नै सुदृढ हुने उहाँको भनाइ छ । 

देशमा अहिले गठबन्धनका सरकार रहेको र कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको उहाँले बताउनुभयो । पार्टीमा धेरै कुरा उठ्ने गरेका भए पनि सबै कुराको थिति मिलाएर जानु पर्ने देउवाले बताउनुभयो । 

प्रतिनिधि सभामा सबै प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुनुपर्छ भन्ने विषयमा सबै दलको सहमति भयो भने कांग्रेस त्यसमा तयार रहेको देउवाले बताउनुभयो । राष्ट्रिय सभामा समानुपातिक र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणाली मात्र लागु गर्न सकिने उहाँको भनाइ छ । ‘त्यसको लागि संविधानको संशोधन आवश्यक छ, संविधानको संशोधनको लागि दुईतिहाई मत चाहिन्छ, त्यस कारण सबै पार्टीको बिचमा सहमति हुन जरुरी छ, यदि यो सहमति भयो भने विचार गर्न नहुने कुरा होइन’, देउवाले भन्नुभयो । 

उहाँले कांग्रेस अब एक भएर अघि बढ्नु पर्ने बताउनुभयो । अबको दिनमा कांग्रेस देश भरी एक भएर अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।